१३ वैशाख (खोटाङ)- दूधकोसी किनारमा डुङ्गा चलाउने र माछा मार्ने पेसा अपनाउँदै आएका माझी समुदायमा पछिल्लो समय वैदेशिक रोजगारीका कारण आर्थिकस्तर वृद्धि हुँदै गएको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित रभुँवाघाटका अधिकांश माझी समुदायको अहिले सहरमा घर तथा घडेरी छ ।
सम्पत्ती नजोड्नेले पनि आफ्ना परिवारलाई सहरमा बस्ने तथा बालबच्चालाई पढाउने वातावरण सिर्जना गरेका वडासदस्य सोमबहादुर माझीले बताए । उनका अनुसार स्थानीय सोम माझी २०४१ सालमा विदेश गएपछि रभुँवाघाटमा बसोबास गर्ने माझी समुदायका युवाले विदेश जाने क्रम शुरु गरेका हुन् ।
झण्डै ३४ वर्षयता त्यहाँका अधिकांश माझी युवा वैदेशिक रोजगारीमा संलग्न रहेको पाइएको छ । उच्च शिक्षा हासिल गर्ने अवस्था नभएका कारण माझी समुदायको आर्थिक उपार्जनको एक मात्र विकल्प वैदेशिक रोजगार बनेको हो ।
अहिले रभुँवाघाटका माझी समुदायमा वैदेशिक रोजगारीमा नगएका घरपरिवार भेटिन्न । हरेक घरबाट एकदेखि तीन जनासम्म विदेश गएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता बाबुराम जोशीले बताए ।
विदेशमा पसिना बगाएर कमाएको पैसाले कतिपय माझी युवाले गाउँमै आकर्षक घर बनाएर बसेका छन् । तीन दशकअघिसम्म स–साना झुपडीमा बसोबास गर्ने माझी परिवार पछिल्लो समय निलो र सेतो जस्ताका छानो हालेर बनाएको चिटिक्क परेको घरमा सोलारको उज्यालो बालेर बस्न थालेका छन् ।
हेर्दै उराठ लाग्दो फुस्रो डाँडा रहेको रभुँवाघाटमा पछिल्लो समय खरका छाना भएको घर विस्थापित हुने क्रम तीव्र छ । यसअघि रभुँवाघाटका माझी समुदाय सोही घाटमा डुङ्गा चलाउँदा प्राप्त हुने घाटे पाथी (अन्न) ज्याला उठाएर र माछा मारेर बेचेको पैसा वा माछासँग साटेको अन्नले जीविका चलाउँदै आएका थिए ।
रभुँवाघाटमा जन्मिएर सहरमा बसोबास गरिरहेका माझी परिवार वैशाख पूर्णिमा र फागुन तेस्रो साता गरिने कोसी पूजाका बेलामा मात्र गाउँमा भेला हुने गरेका स्थानीय युवा नेता खेमराज देउसालीले बताए । “माझी समुदायका हरेक व्यक्ति अहिले केही न केही पेशामा आवद्ध छन् ।” उनले भने, “उनीहरु विभिन्न पेशामा आवद्ध भएकै कारण गाउँमा बस्न पाउँदैनन् ।”
जिल्लाको लामीडाँडा रभुँवाघाट, घोपाटार, जयरामघाट, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायत सुनकोसी र दूधकोसी किनारमा माझी समुदायको बसोबास छ । लामीडाँडामा मात्र ८७ माझी परिवारको बसोबास छ । तीमध्ये ६२ घर माझी रभुँवाघाटमा रहेको माझी उत्थान सङ्घले जनाएको छ ।
आर्थिक रुपमा समृद्ध हुँदै गएको रभुँवाघाटमा माझी समुदायको बाक्लो बस्ती भएपनि आधारभूत तहको विद्यालयसमेत छैन । माझीगाउँमा रावा कक्षा–३ सम्म पढाइ हुने प्रावि मात्र सञ्चालनमा छ । प्रावि तहको अध्ययन पूरा गरेपछि स्थानीय बालबालिका एक घण्टा उकालो हिँडेर विश्वज्योती मावि जान बाध्य छन् । नजिकमा उच्च शिक्षा आर्जन गर्ने विद्यालय नभएपछि अकिांशले बीचैमा पढाइ छाड्ने गरेका जनाइएको छ ।
गाउँमा शिक्षाको वातावरण सिर्जना गर्न कसैको ध्यान नपुगेको प्रति माझी समुदायको गुनासो छ । वैदेशिक रोजगारीबाट माझी समुदायको आर्थिक उन्नति हुँदै गएपनि शैक्षिकस्तर भने अझै नाजुक छ ।
No comments:
Post a Comment