१६ वैशाख (खोटाङ)- पाँच वर्षभित्र देशको सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले देशको ७ सय ५३ वटै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागेको हो ।
आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाई नागरिकको पहुँच स्थापित गर्न १५ शैय्याको अस्पताल निर्माण गर्ने आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा उल्लेख छ ।
पहिलो चरणमा देशको २ सय ५१ स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरण अन्तर्गत खोटाङका चारवटा स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ ।
यहाँको ऐसेलुखर्क गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा पहिलो चरण अन्तर्गत अस्पताल निर्माण हुने भएको हो ।
एउटा अस्पताल निर्माण एवं स्तरोन्नतिको लागि साढे ३ करोडदेखि ७ करोड रुपैयाँ सम्म बजेट लाग्छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहिलो चरणमा २ सय ५१ स्थानीय तहबाट निवेदन परेको छ । योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०७५/०७६ मा सरकारले ७५ करोड बजेट विनियोजन गरेको छ ।
No comments:
Post a Comment