१३ वैशाख (खोटाङ)- यहाँको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकको नियुक्ति बदर गर्ने भएको छ । जिल्ला शिक्षा समन्वय एकाइ कार्यालय मार्फत नियुक्ति पाएका शिक्षकको नियुक्ति बदर गर्ने निर्णय गरेको हो। शिक्षक सेवा आयोग उत्तीर्ण गरेपछि सो कार्यालयले नगरपालिकाका विभिन्न विद्यालयमा नियुक्तिका लागि पठाएका शिक्षकको नियुक्ति बदर गर्ने निर्णय गरेको हो।
आयोग उत्तीर्ण गरेका शिक्षकलाई कार्यालयले जानकारी नदिई र समन्वय नगरी नगरपालिकाका विभिन्न विद्यालयमा पठाएको भन्दै बिहीबार बसेको शिक्षा समितिको बैठकले त्यस्ता शिक्षकको नियुक्ति अस्वीकार गर्ने निर्णय गरेको नगरका मेयर इवन राईले बताए।
आयोग उत्तीर्ण शिक्षकलाई आवश्यक विद्यालयमा भन्दा पनि आपूmखुसी नियुक्ति दिएर पठाएकाले सो निर्णय गरिएको मेयर राईको भनाई छ । बैठकमा शिक्षा समन्वय एकाइको कार्यालयले पठाएका शिक्षकलाई हाजिर नगराउने तथा हाजिर भइसकेका शिक्षकलाई तलब नदिने निर्णय गरेको छ।
जिल्लाबाट पठाइएका शिक्षकलाई तलब व्यवस्थापनमा समेत कठिनाइ हुने नगरपालिकाले जनाएको छ। ‘संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा शिक्षक नियुक्ति गर्ने, पदस्थापन गर्ने र सरुवा गर्ने अधिकार स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेको भन्दै नगरप्रमुख राईले भने, ‘शिक्षक नियुुक्तिका क्रममा न हामीसँग समन्वय गरिएको छ, न बोधार्थ नै दिइएको छ। आफूखुसी नियुक्ति दिएर पठाइएकाले नियुक्ति बदरको निर्णय गर्नुपरेको हो।’
बैठकले शिक्षा समितिको सो निर्णयबारे नगरका विद्यालयलाई पत्राचार गर्ने, संघ र प्रदेश सरकारलाई जानकारी गराउने तथा शिक्षक सेवा आयोग उत्तीर्ण गरेपछि सिफारिस भएर आएका शिक्षकको सूची माग गरी नियुक्ति र पदस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
No comments:
Post a Comment