१४ वैशाख (खोटाङ)- प्रदेशसभा सांसद तथा नेकपाका केन्द्रीय सदस्य राजन राईले सडक स्तरोन्नती र कालोपत्रे गर्न मुख्यमन्त्री शेरधन राई समक्ष माग गरेका छन् । उनले खोटाङको बाक्सिला–सप्तेश्वर–कादेल सडक कालोपत्रे गर्न र ऐसेलुखर्क–होप्छु–देसारे–ज्यामिरे–रावाखोला सडक स्तरोन्नतीको माग गरेका हुन् ।
मुख्यमन्त्री ग्रामिण कृषि सडक कार्यक्रम अन्तरगत जिल्लाको सो सडक कालोपत्रे गर्न र स्तरोन्नतीका लागि माग राखिएको प्रदेशसभा सांसद राईले बताए । पहाडी जिल्लाका कच्ची सडक पिच गर्नमा अहिलेसम्म राज्यकै ध्यान पुग्न नसकेको सन्दर्भमा सांसद राईले प्रदेश एकका मुख्यमन्त्री राई समक्ष सडक कालोपत्रेको माग राखेका हुन् ।
मध्यपहाडी लोकमार्गलाई अलग राखेर हेर्ने हो भने खोटाङका कुनै पनि सडक पिच गर्ने सुरसार छैन,’ सांसद राईले भने, ‘अव पहाडका सडकलाई पनि प्राथमिकतामा राखेर गाउँ–गाउँका सडक पिच गर्ने कामको सुरुवात गर्नुपर्छ भनेर माग राखेका छौँ ।’
यसअघि सांसद राईकै नेतृत्वको टोली खोटाङ र सोलुखुम्बु जोड्ने बिजुले–दुबेकोल–ऐसेलुखर्क–लोखिम सडक पिच गर्न र हलेसी–लामीडाँडा सडक निर्माणका लागि आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो समक्ष डेलीगेसन गएको थियो ।
बिजुले–दुबेकोल–ऐसेलुखर्क सडक स्तरोन्नतीका लागि प्रदेश सरकारबाट बजेट विनियोजन भइसकेको सन्दर्भमा ऐसेलुखर्कदेखि सोलुखुम्बुको लोखिम जोडेर कालोपत्रे गर्न माग राखिएको सांसद राईले बताए । लामीडाँडा बिमानस्थल र हलेसीलाई जोड्ने हलेसी–लामीडाँडा सडक निर्माण गर्न सकिए हलेसीको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यस्तै, केपीलासगढी गाउँपालिकाले पनि सडक, पुल तथा सिँचाईका लागि बजेट विनियोजन गर्न प्रदेश सरकार समक्ष माग राखेको छ ।
गाउँपालिका अध्यक्ष कृष्ण राईले ढुँडीखोला–खार्ताम्छा–बासपानी–बाक्सिला–सप्तेश्वर खानेपानी योजना सञ्चालन गर्न, बाक्सिला–सुंदेल सडक खण्डको सुंदेलस्थित चेर्खे खोलामा पक्की पुल निर्माण गर्न, बाक्सिला–बासपानी–खार्ताम्छा–फेदी सडक स्तरोन्नती गर्न माग गरेका हुन् ।
त्यस्तै बानाखोला–बासपानी गुरुङगाउँ–कोलबोटे–सिमपानीगैरा सिँचाई योजना सञ्चालन गर्न, सुंदेलको घिकु खोलामा झोलुंगे पुल निर्माण गर्न र बाक्सिलामा पाँच सय जना अट्ने बैठक हल निर्माणका लागि बजेटको व्यवस्था गर्न लिखित माग राखेका हुन् ।
No comments:
Post a Comment