Tuesday, April 30, 2019

आगलागीमा घर नष्ट

खोटाङ, बैसाख १८– गए राती आगलागी हुँदा खोटाङमा १४ लाखभन्दा बढिको क्षती भएको छ । साकेला गाउँपालिका–३ खिदिमास्थित मुङ्लाका मनबहादुर खड्काको घर जल्दा १४ लाख ४० हजार बराबरको क्षती भएको हो । 

आगलागीमा खड्काको एक तले दुई वटा घर, गोठ, लत्ताकपडा, अन्नपात, नगद ३ लाख, एउटा खसी लगायत जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कट्वालले बताउनुभयो । 

घरमा लागेको आगो स्थानीयबासी र प्रहरीचौकी मात्तिमबाट खटिएका प्रहरीको टोलीले राती साँढे १ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । 


Monday, April 29, 2019

खोटाङका चार स्थानीय तहमा पहिलो चरणमा १५ शैय्याको अस्पताल बन्ने

१६ वैशाख (खोटाङ)- पाँच वर्षभित्र देशको सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले देशको ७ सय ५३ वटै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागेको हो ।

आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाई नागरिकको पहुँच स्थापित गर्न १५ शैय्याको अस्पताल निर्माण गर्ने आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा उल्लेख छ ।  

पहिलो चरणमा देशको २ सय ५१ स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरण अन्तर्गत खोटाङका चारवटा स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । 


यहाँको ऐसेलुखर्क गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा पहिलो चरण अन्तर्गत अस्पताल निर्माण हुने भएको हो । 

एउटा अस्पताल निर्माण एवं स्तरोन्नतिको लागि साढे ३ करोडदेखि ७ करोड रुपैयाँ सम्म बजेट लाग्छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । 

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहिलो चरणमा २ सय ५१ स्थानीय तहबाट निवेदन परेको छ । योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०७५/०७६ मा  सरकारले ७५ करोड बजेट विनियोजन गरेको छ ।

मूर्तीकार रोजनलाई खोटाङमा पहिलो पटक पुरस्कार

१६ वैशाख (खोटाङ–कुशल तथा प्रतिभावान मुर्तिकारका रुपमा देशबिदेशबाट मायाँ, सम्मान तथा दर्जनौं पुरस्कार पाएका खोटाङका कलाकार रोजन राई आफ्नै जिल्लामा भने पहिलो पटक पुरस्कृत हुने भएको छ । 

करिब दुुई दशकदेखि निरन्तरमुर्ति, प्रतिमा तथा हस्तकलामा समर्पित खोटाङ नेर्पाका मुर्तिकार राईलाई टेम्के तुवाचुङ प्रतिष्ठानले पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । प्रतिमा तथा मुर्ति निर्माणकालागि देशबिदेशबाट झिकाई प्रशंसा तथा सम्मान गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राईलाई‘टेम्के तुवाचुङ प्रतिभा पुरस्कार–२०७५’प्रदान गरिने आयोजकले जनाएको छ  ।

जिल्लाकै फरक प्रतिभाका धनी युवाले  मुर्तिकलाका माध्यमबाट आफु, आफ्नो जिल्ला र देशको परिचय दिएको भन्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष भोगेन राई(एक्ले)ले बताउनुभयो ।बैशाख २१ गते बृहत साहित्यिक, साङ्गीतिक तथा साँस्कृतिक कार्यक्रमकाबीच केपीलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा आयोजना हुने प्रतिष्ठानको पाँचौं बार्षिक उत्सवका अवसरमा पुरस्कार प्रदान गर्ने अध्यक्ष राईको भनाई छ । 



मुर्तिकार(कलाकार)राईलाई ११ हजार १ सय ११ रुपैंयाँको साथमा ताम्रापत्रले पुरस्कृत तथा कदर गर्ने बताईएको छ । हङकङमा रहेका साहित्य तथा संस्कृतिप्रेमी खोटाङेहरुको सक्रियतामा २०७० सालमा निर्माण गरिएको अक्षयकोषबाट बर्षेनी एक जना प्रतिभालाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ । 

देश तथा बिदेशका बिभिन्न स्थानमा आफुले सम्मान तथा पुरस्कार पाए पनि जिल्लामा पहिलो पटक पुरस्कृत हुन लाग्दा खुशी लागेको मुर्तिकार राईले प्रतिक्रिया दिनुभयो । जिल्लाका तुवाचुङ जायजुम, भुल्भुले जस्ता ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलमा मुर्ति तथा प्रतिमा बनाउनुभएका राईले भारतको सिक्कम लगायतका स्थानहरुमा प्रतिमा तथा मुर्तिहरु निर्माण गरी प्रशंसा बटुल्नुभएको छ । 

हाल सुनसरीको धरानमा बसोवास गर्दै आउनुभएका मुर्तिकार राईलाई हङकङ लगायतका देशहरुबाट समेत मुर्ति निर्माणका लागि झिकाईएको छ । फरक–फरक बिधाबाट जिल्लाको प्रतिष्ठा बढाउने या जिल्लाको हीतमा काम गर्ने उदाहरणीय ब्यक्ति पुरस्कारको भागीदार बन्दै आएका छन् । यसअघि साहित्यकार, कबि चन्द्र रानोहँछा, सितोरियो कराते खेलाडी सञ्जयकुमार राई र गायिका राधा राईले उक्त पुरस्कार ग्रहण गरिसकेका छन् । 

ब्याकुल माईलालाई सेवा सुविधाको माग

१६ वैशाख (खोटाङ)- प्रदेश नम्बर १ को संसदमा राष्ट्रिय गानका सर्जक व्याकुल माईलालाई उपयुक्त सेवा सुविधा दिइनुपर्ने आवाज उठेको छ । 

आईतबारको प्रदेश संसदको शुन्य समयमा खोटाङका सांसद राजन राईले १ नम्बर प्रदेशको ओखलढुंगामा जन्मिएका र राष्ट्रको अनमोल आभूषण भएकाले व्याकुल माईलालाई प्रदेश सरकारले सम्मानकासाथ सेवा सुविधा उपलव्ध गराइनुपर्ने माग राखेका हुन् । 

राष्ट्रगान रचना गरिसकेपछि राष्ट्रिय गानका सर्जककारुपमा मर्यादित जीवन विताउनेक्रममा व्याकुल माईलाको जीवन चरम आर्थिक संकटमा फसेकाले राज्यले सम्मानकासाथ हेर्नुपर्ने अवस्था देखिएको सांसद राईले बताए । 
‘संसद सुरु हुनुपुर्व राष्ट्रगानको ध्वनी गुञ्जन्छ, हामी गौरवले छाती चौंडा बनाउँछौँ, राष्ट्रिय भावनाले ओतप्रोत हुन्छौँ । तर छापाहरु हेरेँ, त्यो छापाको खबरहरुले मलाई छोयो,’ प्रदेशसभा सांसद राईले भने, ‘राष्ट्रगानका रचनाकार व्याकुल माईला चरम आर्थिक संकटबाट गुज्रिरहनु सुनको छौँ । 


उहाँका बच्चाहरु सहज तरिकाले स्कुल जाने सक्ने स्थिति छैन । यसो भएको हुनाले एउटा निश्चित मापदण्डभित्र रहेर न्यूनतम सेवा सुबिधा उपलव्ध गराउनका लागि प्रदेश सरकार समक्ष आग्रह गर्दछु ।’ 

कानून व्यवसाय गरेर जीवन चलाउँदै आएका व्याकुल माईला राष्ट्रगानको सर्जक बनेपछि आफ्नो मर्यादालाई ख्याल राख्नेक्रममा आर्थिक संकटबाट फस्न पुगेको प्रदेशसभा सांसद राईले बताए । ‘पहिला उहाँ एउटा कानून व्यवसायी हुनुहुन्थ्यो । उहाँको जीवन चलिरहेको थियो, तर राष्ट्रगान लेखिसकेपछि उहाँलाई एक किसिमको छेकवार लाग्यो । 

राष्ट्रगानको रचनाकारको जीवन मर्यादित हुनुपर्छ भन्ने मान्यताले उहाँले कानून व्यवसाय छाड्नु भयो । अहिले उहाँको जीवन चरण आर्थिक संकटबाट गुज्रिरहेको छ,’ राईले भने, ‘व्याकुल माईला १ नम्बर प्रदेशले जन्माइदिएको मुलुकको आभूषण हो । यसो भएको हुनाले उहाँको अवस्था हेरेर न्यूनतम सेवा सुबिधा उपलव्ध गराउन दायित्वकारुपमा लिन सरकार समक्ष आग्रह गर्दछु ।’ 

Sunday, April 28, 2019

चट्याङ लागेर महिलाको मृत्यु

१६ वैशाख (लामिडाँडा)- चट्याङ लागेर खोटाङमा एक महिलाको मृत्यु भएको छ । शनिबार साँझ वर्षासँगै परेको चट्याङले रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका ४५ वर्षीय कमला श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार खड्काले बताए । 

घरैमा बसिरहेको अवस्थामा परेको चट्याङका कारण गम्भीर घाईते भएका श्रेष्ठलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकी पु¥याउने वित्तिकै स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । 

चट्याङका कारण स्थानीय धनकुमारी श्रेष्ठ घाईते भएकी छन् । बेहोस अवस्थामा स्वास्थ्यचौकी लगिएकी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार भएपछि घर फर्किएको प्रहरी निरिक्षक खड्काले बताए । 



सामुदायिक विद्यालयमा पढ्न अनिवार्य इन्ट्रान्स

१६ वैशाख (खोटाङ) दमन राई (नागरिकबाट)-नयाँ शैक्षित्र–सत्रका लागि भर्ना अभियान चलिरहँदा कतिपय विद्यालयलाई विद्यार्थी पाउन धौ–धौ परिरहेको छ। तर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविले भने भर्ना हुन आएका विद्यार्थीको चाप थेग्न प्रवेश परीक्षा इन्ट्रान्सको सहारा लिनुपरेको छ। 

शिशु कक्षादेखि कक्षा १० सम्म भर्ना हुन आउने विद्यार्थीको चाप बढी भएपछि ‘इन्ट्रान्स’ लिएर नाम निकाल्ने विद्यार्थीको मात्र भर्ना गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक अध्यानबहादुर राईले बताए।

नयाँ शैक्षिक सत्रका लागि कक्षा ६ देखि कक्षा ९ सम्म भर्ना हुन आएका विद्यार्थी छान्न सरस्वती माविले दुई दिन लगाएर प्रवेश परीक्षा लिएको छ। भर्नाका लागि आएका एक सय ६० विद्यार्थीलाई सहभागी गराएर प्रवेश परीक्षा लिइएको हो। 

प्रधानअध्यापक राईका अनुसार अंग्रेजी धार ९बोर्डिङ स्कुल० बाट आएका ७८ विद्यार्थीमध्ये १३ जना अनुत्तीर्ण भएका छन्। यस्तै सामान्य विद्यालयबाट आएका ८२ विद्यार्थीमध्ये दुई विद्यार्थी नाम निकाल्न असफल भएका छन्। ‘

कक्षा ८ का लागि अब भर्ना गर्न सकिने अवस्था छैन, कोटा पूरा भइसकेको छ,’ प्रधानाध्यापक राईले भने, ‘अब अन्य कक्षाका लागि मात्र भर्ना गर्न सकिन्छ।’ विद्यार्थी आउने क्रम जारी रहेकाले पुनः प्रवेश परीक्षा लिनुपर्ने अवस्था रहेको उनले जानकारी दिए। 

नेपाली धारबाट कक्षा ६ मा आठजना, कक्षा ७ मा तीनजना, कक्षा ८ मा १५ जना र कक्षा ९ मा ५६ जना विद्यार्थी भर्ना हुन आएका थिए। 

यस्तै, अंग्रेजी धारबाट कक्षा ६ मा नौजना कक्षा ७ मा नौजना, कक्षा ८ मा २५ जना र कक्षा ९ मा ३५ जना विद्यार्थी भर्ना हुन आएको विद्यालयले जनाएको छ।

सरकारी त्यसमा पनि ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी भर्नाका लागि ‘इन्ट्रान्स’ लिइएको घटनाले जिल्लाका शैक्षिक क्षेत्रमा चर्चा पाइरहेको छ। 

पाठ्यक्रममा आधारित शिक्षण सिकाइ बिधि अपनाउन सुरु गरेपछि २००९ फागुनमा स्थापित सरस्वती माविले अन्य विद्यालयका विद्यार्थीसमेत तान्न सफल भएको बताइएको छ। 

कक्षा ५ मुनिका कक्षामा मिनी–मन्टेश्वरी शैलीको शिक्षण विधि अपनाउँदै आएको सो विद्यालयमा हरेक वर्ष विद्यार्थीको आकर्षण बढिरहेको छ। 

विद्यालयलाई नमुना बनाउने विधि, सीप, क्षमता, योजना, भिजनलगायत विषय अध्ययनका लागि तत्कालीन जिशिअ ज्ञानमणि नेपालले २०७३ चैतमा आयोजना गरेको विभिन्न नमुना विद्यालय भ्रमणपछि विद्यालयमा विद्यार्थी केन्द्रित पठन–पाठन सुरुवात गरिएको प्रधानाध्यापक राईले बताए।

पुस्तकको भरमा पुरातन शैलीबाट पठनपाठन सञ्चालन हुँदै आएको विद्यालयमा आवश्यक पुस्तक तथा शैक्षिक सामग्री जुटाएर पाठ्यक्रममा आधारित शिक्षण सिकाइ सुरु गरिएपछि विद्यालयले बोर्डिङकै झल्को दिने गरेको छ। 

कक्षाको फरक स्वरूप र सजावट, विद्यार्थी केन्द्रित शिक्षण व्यवस्था, कक्षामा पर्याप्त शैक्षिक सामग्रीको व्यवस्थापनसँगै अनुशासनमा गरिएको कडाइ पनि विद्यालयको सफलताको अर्को कारक हो। 

माथिल्लो कक्षामा इच्छाअनुसार अंग्रेजी र नेपालीमा पठनपाठनको व्यवस्था भए पनि प्रावि तहमा अंग्रेजी अनिवार्य गरिएको विद्यालयले जनाएको छ।

तीन विद्यालय शिक्षकविहीन
खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन विद्यालय शिक्षकविहीन बनेको छ। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित जालन्धर प्रावि, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बालकन्या प्रावि र डिकुवाकै बरगाछी प्रावि बलुई चैतदेखि शिक्षकविहीन बनेको हो। 

जालन्धर प्राविमा कार्यरत अस्थायी शिक्षक कवीन्द्र राई र बालकन्या प्राविका कार्यरत शिक्षक भूपमनी राईले गोल्डेन ह्यान्डसेकमा गत चैत ३ गतेदेखि स्वतः अवकाश पाएपछि विद्यालय शिक्षकविहीन बनेको हलेसी तुवाचुङका मेयर इवन राईले बताए। 

यस्तै कार्यरत शिक्षक तीर्थ खड्काले शिक्षक सेवा आयोगमार्फत स्थायीमा नाम निकालेर दाम्ली मावि डिकुवामा सरुवा लिएपछि बरगाछी प्रावि शिक्षकविहीन बनेको हो।

शिक्षकविहीन हुँदा तीनवटै विद्यालय बन्द हुने अवस्थामा पुगेको छ। सरकारी दरबन्दीको शिक्षक नहुँदा विद्यार्थी भर्ना अभियान र पाठ्यापुस्तक वितरणका कामसमेत प्रभावित भएको छ। 

जिल्ला शिक्षा समन्वय एकाइको कार्यालयले शिक्षक सेवा आयोग उत्तीर्ण गरेका स्थायी शिक्षकलाई नियुक्ति दिएर नगरका विभिन्न विद्यालयमा पठाए पनि रिक्त दरबन्दीमा शिक्षक नपठाएकाले विद्यालय बन्द हुने अवस्थामा पुगेको मेयर राईले बताए। 

‘शिक्षा समन्वय एकाइ कार्यालयले स्थायी शिक्षक त पठायो तर हामीसँग समन्वय नै नगरी आफूखुसी पठाइएको छ,’ मेयर राईले भने, ‘आवश्यक विद्यालयमा शिक्षक नपठाउँदा विद्यालय बन्द हुने अवस्थामा पुगेको छ।’


कार्यरत एक मात्र अस्थायी शिक्षक गोल्डेन ह्यान्डसेकमा निस्किएपछि जालन्धार प्राविमा हाल विद्यालय कर्मचारी मात्र बाँकी छन्। 

यस्तै एक मात्र दरबन्दीमा कार्यरत शिक्षक गोल्डेन ह्यान्डनसेकमा अवकाश पाएर निस्किएपछि बालकन्या प्राविमा हाल बाल विकास शिक्षक र एकजना कर्मचारी मात्र बाँकी छन्। 

कार्यरत शिक्षक खत्री आन्तरिक आयोगमार्फत स्थायीमा नाम निकालेर घर पायक रहेको दाम्ली माविमा सरुवा लिएपछि बरगाछी प्राविमा बाल विकासका र अनुदान कोटाका एकएक शिक्षक र एक कर्मचारी मात्र बाँकी रहेको स्रोतव्यक्ती राईकोभनाइ छ। 

जिल्ला शिक्षा समन्वय एकाइको कार्यालयले शिक्षक नहुँदा बन्द हुने अवस्थाका विद्यालयमा शिक्षक नपठाएको भन्दै नगर शिक्षा समितिको बैठकले पठाइएका शिक्षकलाई हाजिर नगराउने र हाजिर भइसकेका शिक्षकलाई तलब नखुवाउने निर्णय गरिसकेको छ। 

शिक्षा समन्वय एकाइ कार्यालय खोटाङका प्रमुख सेवन्त गौतमले भने त्यस विषयमा आफूलाई आधिकारिक जानकारी नभएको बताए।

बिजयखर्कमा करेन्ट लाग्याे, लामिडाडामा चट्याङबाट महिलाकाे मृत्युु

१५ वैशाख (खाेटाङ)- अहिले भर्खरै खाेटाङकाे विजयखर्कमा विधुत प्राधिकरणमा कार्यरत एक कर्मचारीलाई करेन्ट लागेकाे खबर प्राप्त भएको छ ।

विधुत मर्मत गर्ने क्रममा फिल्डमा कार्यरत कर्मचारी सुन्दर काफ्लेलाई करेन्ट लागेकाे हाे । करेन्ट लागेपछि खाेटाङमा प्रशारण भएकाा सबै विधुत लाईन काटिएको छ ।

करेन्ट लाग्ने व्यक्तिकाे अवस्थाकाे बारेमा थप जानकारी अाउन बाकी छ भने घटनास्थलतर्फ विधुतका कर्मचारी गईसकेका छन् । यश बारे अाफुहरुलाई जानकारी नअाएकाे प्रहरीले जनाएको छ ।

यता, शनिबार साझ परेकाे चट्याङबाट लामिडाडा गाउँ पालिका ३ लेखर्ककी ४५ वर्षिया कमला स्रेष्ठकाे मृत्यु भएको जनाईएकाे छ ।

Saturday, April 27, 2019

परीक्षामा अमर्यादित गतिविधि गरे छ महिना कैद र एक लाख जरिवाना

१५ वैशाख (भक्तपुर)- राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ। परीक्षामा कक्षा १२ मा चार लाख २८ हजार ५२ गरी कुल नौ लाख ३६ हजार ५४६ परीक्षार्थी सहभागी हुदैँछन् ।

आइबार सुरु हुने परीक्षा वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ । यसैगरी कक्षा ११ को परीक्षा वैशाख २९ गतेबाट सञ्चालन हुनेछ । उक्त परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागी हुनेछन् ।

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार कक्षा ११ र १२ का लागि देशभरिमा एक हजार १०७ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए । परीक्षालाई मर्यादितरूपमा सञ्चालन गर्न १३ हजार २८४ जना सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ । यसैगरी बोर्डले परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।


कक्षा १२ र ११ को परीक्षामा नौ लाख ३६ हजार परीक्षार्थी

१४ वैशाख (काठमाडौ)- देशभर एकैसाथ सुरु हुन गईरहेको कक्षा १२ र कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

कक्षा १२ को परीक्षा वैशाख १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुनेछ भने कक्षा ११ को वैशाख २९ गतेबाट परीक्षा हुने भएको छ । कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी गरी कूल नौ लाख ३६ हजार ५४६ परीक्षार्थीको सहभागिता रहने छ । 

कक्षा १२ र कक्षा ११ को परीक्षामा चार लाख ४२ हजार, ९९७ छात्र र चार लाख, ९३ हजार ५४९ छात्राको सहभागिता रहने परीक्षा बोर्डले जनाएको छ ।

आगामी २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ।

यसैगरी वैशाख २९ गते शुरु भई जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ।

सबैभन्दा कम मनाङ जिल्लाबाट कक्षा ११ को परीक्षामा ५१ र कक्षा १२ मा ५९ तथा सबैभन्दा धेरै काठमाडौँ जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५२७ र कक्षा १२ मा ६२ हजार ५८८ परीक्षार्थी सहभागी हुँदैछन्। 

बोर्डले परीक्षाका लागि देशभर एक हजार १०७ परीक्षा केन्द्र निर्धारण गरेकामा सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा १२२ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक एक परीक्षा केन्द्र निर्धारण गरेको जनाईएको छ ।

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ। कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

लापारवाहीको पराकाष्ट : बाहिर कक्षा १० भित्र कक्षा ९

दमन राई (खोटाङ) 
१४ वैशाख– पाठ्याक्रम विकास केन्द्रले प्रकाशन गरेको कक्षा ९ को नेपाली विषयमा कक्षा १० को नेपाली विषयको कभर हालेको भेटिएको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्याक्रम विकास केन्द्रले प्रकाशन गरेर विद्यालयमा पठाएको कक्षा ९ को नेपाली विषयमा त्रुटी हुँदा कक्षा १० को नेपाली विषयको कभर हालेको पाइएको हो।

नयाँ शैक्षिक–सत्रका लागि खरिद गरेर ल्याइएका विभिन्न कक्षाको पुस्तकमध्ये कक्षा ९ को कतिपय नेपाली विषयमा कक्षा १० को कभर हालेको पाइएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बाँसबोटेका शिक्षक रविन सुनुवारले बताए।

पुस्तकको थुप्रोमा कुनै–कुनै पुस्तकमा त्रुुटी भएको फेला परेको हो। ‘कक्षा ९ को नेपाली विषयको केही पुस्तकमा त्रुटी पाइएको हो,’ शिक्षक सुनुवारले भने, ‘बाहिर कक्षा १० लेखिएको भए पनि भित्र कक्षा ९ कै पाठ्यावस्तु समावेस छ।’ (नागरिकबाट)

चिसापानीमा पहिलोपल्ट केन्द्रीय विद्युत विस्तार

१४ वैशाख (चिसापानी)- खोटाङको जन्तेढुंगा गाउँपालिकामा पहिलोपल्ट केन्द्रीय प्रशारणलाईन अन्तरगतको विद्युत पुगेको छ । हालसम्म केन्द्रिय विद्युत प्रशारणलाईन पुग्न नसकेको जन्तेढुंगा गाउँपालिकामा खोटेहाङ गाउँपालिका–७ खोटाङबजारबाट विद्युतको केन्द्रीय प्रशारणलाईन विस्तार गरिएको हो । 

गाउँपालिकाको केन्द्रकारुपमा रहेको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीबजारस्थित बिपी चोकमा शुक्रबार प्रतिनिधिसभाका सांसद बिशाल भट्टराईले स्वीच अन गरेर केन्द्रीय विद्युत प्रशारणलाईन उद्घाटन गरेका छन् ।

गाउँपालिकामै पहिलोपल्ट बिस्तार गरिएको बिद्यूतले गाउँपालिका–५ चिसापानीबजारका ६६ घरधुरीमा विजुली बत्त बलेको छ । सो क्षेत्रमा बिद्युत बिस्तारका लागि तत्कालिन जिल्ला बिकास समितिले आर्थिक वर्ष २०७३÷०७४ मा ५९ वटा पोल र तार उपलव्ध गराएको योजनालाई जन्तेढुंगा गाउँपालिकाको ८५ लाख बजेट खर्च गरेर पूर्णता दिएको हो । 

जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा बिद्युत उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद बिशाल भट्टराई ।


वर्षौँदेखि सोलार र टुकी बाल्दै आएका स्थानीय केन्द्रिय प्रसारण लाइन विस्तार भएपछि चिसापानीका स्थानीय हर्षित भएका छन् । ६ वडा रहेका अन्य वडामा पनि क्रमशः विद्युत बिस्तारको काम गरिने गाउँपालिका प्रमुख शंकर राईले बताए । 

आयोजनाका लागि नेपाल बिद्युत प्राधिकरणले पनि आयोजनाका लागि ८० वटा पोल उपलव्ध गराएको विद्युत बिस्तार समितिले जनाएको छ । विद्युत उद्घाटन कार्यक्रममा प्रदेशसभा सांसद रामकुमार राई लगायतको उपस्थिति रहेको थियो । 

‘टेम्के तुवाचुङ’को वार्षिकोत्सव बाक्सिलामा हुने

१४ वैशाख (खोटाङ)- कला, साहित्य तथा सङ्गीतको प्रबद्र्दन र बिकासमा क्रियाशील टेम्के तुवाचुङ प्रतिष्ठानले आफ्नो पाँचौं बार्षिक उत्सब खोटाङको बाक्सिलामा मनाउने तयारी गरेको छ । 

जिल्लाको भाषा, संस्कृति तथा खेलकूद क्षेत्रको समेत संरक्षण, सम्बद्र्दन र बिकासमा जुटेको प्रतिष्ठानले बैशाख २१ गते जिल्लाको केपीलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा भब्यताका साथ बार्षिकोत्सब मनाउने तयारी गरेको हो । 

साबिकको सदरमुकाम दिक्तेलमा मात्र केन्द्रीत नगरी जिल्लाका बिभिन्न स्थानमा कार्यक्रम आयोजना गर्ने प्रतिष्ठानको उदेश्य अनुसार उत्तरी क्षेत्रको ऐतिहासिक ब्यापारिक केन्द्र समेत रहेको बाक्सिलालाई उक्त कार्यक्रस्थल निर्धारण गरिएको अध्यक्ष भोगेन एक्लेले बताए । 

२०७२ बैशाखमा विधिवत स्थापना भएको संस्थाले अघिल्लो बर्ष हलेसीबजारमा बार्षिकोत्सब मनाएको थियो । गत बर्षहरुमा जस्तै यो बर्ष पनि कार्यक्रमलाई भब्यता दिलाउन ‘अलग अभियान’ लगायतका साहित्यिक, सांगीतिक तथा साँस्कृतिक टोलीको प्रस्तूति रहने जनाईएको छ । 


कार्यक्रमको महत्वपूर्ण पक्षमा मूर्तिकार रोजन राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५ समर्पण’ र गायक तथा सङ्गीतकार पदम थुलुङ राईको ‘लोपोन्मुख भाका प्रस्तुति’ रहने आयोजकले जनाएका छन् । मूर्ति तथा प्रतिमा निर्माण एबम् हस्तकलाबाट देशबिदेशमा आफु र आफ्नो जन्मभूमिको परिचय दिएको भन्दै कलाकार(मूर्तिकार) राईलाई ११ हजार १ सय ११ रुपैंयाँको साथमा ताम्रापत्रले पुरस्कृत तथा कदर गर्ने बताईएको छ । 

हङकङमा रहेको साहित्य तथा संस्कृतिप्रेमी खोटाङेहरुको सक्रियतामा २०७० सालमा निर्माण गरिएको अक्षयकोषबाट बर्षेनी एक जना प्रतिभालाई पुरस्कार प्रदान गर्ने गरिएको छ ।  फरक–फरक बिधाबाट जिल्लाको परिचय दिने या जिल्लाको हीतमा काम गर्ने उदाहरणीय ब्यक्ति पुरस्कारको भागीदार बन्दै आएका छन् । 

यसअघि साहित्यकार कबि चन्द्र रानोहँछा, सितोरियो कराते खेलाडी सञ्जयकुमार राई र गायिका राधा राईले उक्त पुरस्कार ग्रहण गरिसकेका छन् । पाँचौ बार्षिक उत्सवको अवसरमा गायक तथा सङ्गीतकार एबम् साँस्कृतिक अभियान्ता पदम थुलुङ राईको किराती लोपोन्मुख मौलिक भाकाहरुको प्रस्तुति रहने छन् । राईले खोटाङ, ओखलढुंगा, सोलुखुम्बु लगायतका ग्रामिण भेगहरुबाट संकलित मौलिक भाकाहरु प्रस्तुत गर्ने जनाईएको छ ।

बाक्सिलाबजारमा प्रतिष्ठानको स्थापनादेखि नै संस्थागत सहकार्य गर्दै आएको ‘अलग अभियान’ टोलीको साहित्यिक तथा साङ्गीतिक प्रस्तुति अर्को आकर्षण बन्ने छ । कार्यक्रममा साईनो कला केन्द्र र खोटाङ डान्स क्र्यु साथै स्थानीय श्रष्टा–सर्जकका प्रस्तुति रहने टेम्के तुवाचुङ प्रतिष्ठान सम्बद्द पक्षले बताएका छन् ।



सडक स्तरोन्नती र कालोपत्रे गर्न मुख्यमन्त्री समक्ष माग

१४ वैशाख (खोटाङ)- प्रदेशसभा सांसद तथा नेकपाका केन्द्रीय सदस्य राजन राईले सडक स्तरोन्नती र कालोपत्रे गर्न मुख्यमन्त्री शेरधन राई समक्ष माग गरेका छन् । उनले खोटाङको बाक्सिला–सप्तेश्वर–कादेल सडक कालोपत्रे गर्न र ऐसेलुखर्क–होप्छु–देसारे–ज्यामिरे–रावाखोला सडक स्तरोन्नतीको माग गरेका हुन् । 

मुख्यमन्त्री ग्रामिण कृषि सडक कार्यक्रम अन्तरगत जिल्लाको सो सडक कालोपत्रे गर्न र स्तरोन्नतीका लागि माग राखिएको प्रदेशसभा सांसद राईले बताए । पहाडी जिल्लाका कच्ची सडक पिच गर्नमा अहिलेसम्म राज्यकै ध्यान पुग्न नसकेको सन्दर्भमा सांसद राईले प्रदेश एकका मुख्यमन्त्री राई समक्ष सडक कालोपत्रेको माग राखेका हुन् । 

मध्यपहाडी लोकमार्गलाई अलग राखेर हेर्ने हो भने खोटाङका कुनै पनि सडक पिच गर्ने सुरसार छैन,’ सांसद राईले भने, ‘अव पहाडका सडकलाई पनि प्राथमिकतामा राखेर गाउँ–गाउँका सडक पिच गर्ने कामको सुरुवात गर्नुपर्छ भनेर माग राखेका छौँ ।’ 


यसअघि सांसद राईकै नेतृत्वको टोली खोटाङ र सोलुखुम्बु जोड्ने बिजुले–दुबेकोल–ऐसेलुखर्क–लोखिम सडक पिच गर्न र हलेसी–लामीडाँडा सडक निर्माणका लागि आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो समक्ष डेलीगेसन गएको थियो । 

बिजुले–दुबेकोल–ऐसेलुखर्क सडक स्तरोन्नतीका लागि प्रदेश सरकारबाट बजेट विनियोजन भइसकेको सन्दर्भमा ऐसेलुखर्कदेखि सोलुखुम्बुको लोखिम जोडेर कालोपत्रे गर्न माग राखिएको सांसद राईले बताए । लामीडाँडा बिमानस्थल र हलेसीलाई जोड्ने हलेसी–लामीडाँडा सडक निर्माण गर्न सकिए हलेसीको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । 

यस्तै, केपीलासगढी गाउँपालिकाले पनि सडक, पुल तथा सिँचाईका लागि बजेट विनियोजन गर्न प्रदेश सरकार समक्ष माग राखेको छ । 

गाउँपालिका अध्यक्ष कृष्ण राईले ढुँडीखोला–खार्ताम्छा–बासपानी–बाक्सिला–सप्तेश्वर खानेपानी योजना सञ्चालन गर्न, बाक्सिला–सुंदेल सडक खण्डको सुंदेलस्थित चेर्खे खोलामा पक्की पुल निर्माण गर्न, बाक्सिला–बासपानी–खार्ताम्छा–फेदी सडक स्तरोन्नती गर्न माग गरेका हुन् ।

त्यस्तै बानाखोला–बासपानी गुरुङगाउँ–कोलबोटे–सिमपानीगैरा सिँचाई योजना सञ्चालन गर्न, सुंदेलको घिकु खोलामा झोलुंगे पुल निर्माण गर्न र बाक्सिलामा पाँच सय जना अट्ने बैठक हल निर्माणका लागि बजेटको व्यवस्था गर्न लिखित माग राखेका हुन् ।

Friday, April 26, 2019

पुनः मर्मत गरेपछि खिदिमामा बल्यो बत्ति

१३ वैशाख (खिदिमा)-बेला बेलामा आईलाग्ने विपत्तीबाट हैरान छन् खिदिमाबासी । कहिले भलबाढी त कहिले चट्याङको सामना गर्दै विजुली बालिरहेका खिदिमाबासीहरु पुनः उज्ज्यालोमा बस्न पाएका छन् ।

केही समयअघि चट्याङले क्षति गरेको विधुतीय उपकरणहरु फेरिएपछी खिदिमामा अहिले विजुली वत्ती वलेको छ । साकेला गाउँपालिका–३ खिदिमा बोपुङमा रहेको तावाखोला तेश्रो लघु जलविधुतको पावर हाउसमा नयाँ विधुतीय उपकरणहरु फेरिएपछि वत्ती वलेको हो । १४ दिनमा वत्ती वलेपछि उपभोक्ताहरुको जनजीवन सामान्य बनेको छ ।

गत वर्षको चैत्र ३० गते पानीसँगै परेको चट्याङले लघु जलविधुतमा रहेको एलसी बोर्ड २ थान, एमसीभी २ थान, लाईटिङ टेष्टर १५ थान, मल्टीप्लग २ थान, टिभी १ थान र डिसहोम सेट १ थान नष्ट गरेको थियो ।


नष्ट भएको सामग्रीहरु मर्मत कोषको १ लाख ५० हजारले खरीद गरी पुन जडान गरिएपछि बिहीबार साँझबाट वत्ती सुचारु भएको बताईएको छ । मर्मत कोषवाट उपकरणहरु खरीद गरी वत्ती सञ्चालन गर्दै आए पनि पटक–पटक चट्याङले दुःख दिने गरेकाले थप सहयोगका लागि गाउँपालिकामा निवेदन दिइएको छ । गाउँपालिकाले सक्दो सहयोग गर्ने आश्वसन दिएको छ ।

वत्ती सुचारु भए पनि चट्याङले ३० घरमा क्षति गरेको छ । चट्याङवाट बच्नलाई लघु जलविधुत आयोजना अन्तरगत विभिन्न स्थानमा गरिएको अर्थिङहरुमा पानी लगाएर चिस्याउने काम सुरु गरिएको छ । उक्त लघु जलविधुतबाट खिदिमा, मात्तिमको माथिल्लो भाग र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बास्थलाका २ सय ५२ घरधुरी लाभान्वित हुंदै आएका छन् । तीनै स्थानमा केन्द्रिय प्रसारण लाईन नहुंदा लघु जलविधुतमा समस्या आउना साथ अध्याँरोमा बस्नु परेको छ ।

साकेला गाउँपालिकाले थाल्यो गरीव परिचयपत्र वितरणको काम

१३ वैशाख (खोटाङ) : राज्यको श्रोत, साधन र क्षमताले भ्याएसम्मको सुविधा प्रदान गर्नेगरी लागू गरिएको गरीव परिचयपत्र वितरण कार्यक्रम यहाँको साकेला गाउँपालिकामा सुरु भएको छ ।

गरिवीको रेखामुनि रहेका नागरिक लक्षित कार्यक्रम सञ्चालन गरी राज्यको स्रोत, साधन र क्षमताले भ्याएसम्म सामाजिक संरक्षण प्रदान गर्ने प्रयोजनका लागि साकेला गाउँपालिकाले गत बुधबारदेखि गरिब परिचयपत्र वितरण सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झङ्कारले दिएको जानकारी अनुसार साकेला गाउँपालिका–४ मात्तिम वडाकार्यालयबाट वडाका गरिब समुदायलाई परिचयपत्र वितरण सुरु गरिएको हो ।

गाउँपालिकाले वडा नम्बर ४ मात्तिमका ७३ गरिब घर परिवारमध्ये ५६ घरपरिवारलाई परिचयपत्र वितरण गरेको छ भने वडा नम्बर –५ मात्तिमविर्ताका ४८ घरपरिवारमध्ये २० जना गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको अध्यक्ष खड्काले बताए ।

साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगर गरीव परिचयपत्र वितरण गर्नुहुँदै ।
शुक्रवार वडा नम्बर १ च्यानडाँडाका गरीवलाई परिचयपत्र वितरण गरिएको छ । ५ वटा वडा रहेको साकेला गाउँपालिकाका सबै गरिब घर परिवारलाई क्रमशः परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ । जिल्लामा सबैभन्दा पहिला २०७५ साल असार ३० गते रावाबेँसी गाउँपालिकाले गरिब घर परिवार परिचयपत्र वितरण सुरु गरेको थियो । तर, गरीबको सूचीमा धनीको नाम समावेस भएको पाइएपछि रावाबेँसी गाउँपालिकाले गरिब परिचयपत्र वितराका काम केही दिनमै बन्द गरेको थियो ।

रावावेशी गाउँपालिकामा २० जनालाई रातो, मध्यम गरिबको सूचीमा रहेका १५ घर परिवारलाई पहेँलो र सामान्य गरिबको सूचीमा रहेका २१ जनालाई निलो परिचयपत्र वितरण गरिएको छ ।

Thursday, April 25, 2019

हलेसी तुवाचुङ नगरपालिकामा शिक्षक नियुक्ति बदर गरिदै

१३ वैशाख (खोटाङ)- यहाँको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकको नियुक्ति बदर गर्ने भएको छ । जिल्ला शिक्षा समन्वय एकाइ कार्यालय मार्फत नियुक्ति पाएका शिक्षकको नियुक्ति बदर गर्ने निर्णय गरेको हो। शिक्षक सेवा आयोग उत्तीर्ण गरेपछि सो कार्यालयले नगरपालिकाका विभिन्न विद्यालयमा नियुक्तिका लागि पठाएका शिक्षकको नियुक्ति बदर गर्ने निर्णय गरेको हो।

आयोग उत्तीर्ण गरेका शिक्षकलाई कार्यालयले जानकारी नदिई र समन्वय नगरी नगरपालिकाका विभिन्न विद्यालयमा पठाएको भन्दै बिहीबार बसेको शिक्षा समितिको बैठकले त्यस्ता शिक्षकको नियुक्ति अस्वीकार गर्ने निर्णय गरेको नगरका मेयर इवन राईले बताए। 

आयोग उत्तीर्ण शिक्षकलाई आवश्यक विद्यालयमा भन्दा पनि आपूmखुसी नियुक्ति दिएर पठाएकाले सो निर्णय गरिएको मेयर राईको भनाई छ । बैठकमा शिक्षा समन्वय एकाइको कार्यालयले पठाएका शिक्षकलाई हाजिर नगराउने तथा हाजिर भइसकेका शिक्षकलाई तलब नदिने निर्णय गरेको छ। 


जिल्लाबाट पठाइएका शिक्षकलाई तलब व्यवस्थापनमा समेत कठिनाइ हुने नगरपालिकाले जनाएको छ। ‘संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा शिक्षक नियुक्ति गर्ने, पदस्थापन गर्ने र सरुवा गर्ने अधिकार स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेको भन्दै नगरप्रमुख राईले भने, ‘शिक्षक नियुुक्तिका क्रममा न हामीसँग समन्वय गरिएको छ, न बोधार्थ नै दिइएको छ। आफूखुसी नियुक्ति दिएर पठाइएकाले नियुक्ति बदरको निर्णय गर्नुपरेको हो।’

बैठकले शिक्षा समितिको सो निर्णयबारे नगरका विद्यालयलाई पत्राचार गर्ने, संघ र प्रदेश सरकारलाई जानकारी गराउने तथा शिक्षक सेवा आयोग उत्तीर्ण गरेपछि सिफारिस भएर आएका शिक्षकको सूची माग गरी नियुक्ति र पदस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

वैदेशिक रोजगारीको साकारात्मक पाटो : फेरिदै माझिसमुदायको जीवनस्तर

१३ वैशाख (खोटाङ)- दूधकोसी किनारमा डुङ्गा चलाउने र माछा मार्ने पेसा अपनाउँदै आएका माझी समुदायमा पछिल्लो समय वैदेशिक रोजगारीका कारण आर्थिकस्तर वृद्धि हुँदै गएको छ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित रभुँवाघाटका अधिकांश माझी समुदायको अहिले सहरमा घर तथा घडेरी छ ।

सम्पत्ती नजोड्नेले पनि आफ्ना परिवारलाई सहरमा बस्ने तथा बालबच्चालाई पढाउने वातावरण सिर्जना गरेका वडासदस्य सोमबहादुर माझीले बताए । उनका अनुसार स्थानीय सोम माझी २०४१ सालमा विदेश गएपछि रभुँवाघाटमा बसोबास गर्ने माझी समुदायका युवाले विदेश जाने क्रम शुरु गरेका हुन् ।

झण्डै ३४ वर्षयता त्यहाँका अधिकांश माझी युवा वैदेशिक रोजगारीमा संलग्न रहेको पाइएको छ । उच्च शिक्षा हासिल गर्ने अवस्था नभएका कारण माझी समुदायको आर्थिक उपार्जनको एक मात्र विकल्प वैदेशिक रोजगार बनेको हो ।

अहिले रभुँवाघाटका माझी समुदायमा वैदेशिक रोजगारीमा नगएका घरपरिवार भेटिन्न । हरेक घरबाट एकदेखि तीन जनासम्म विदेश गएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता बाबुराम जोशीले बताए ।

विदेशमा पसिना बगाएर कमाएको पैसाले कतिपय माझी युवाले गाउँमै आकर्षक घर बनाएर बसेका छन् । तीन दशकअघिसम्म स–साना झुपडीमा बसोबास गर्ने माझी परिवार पछिल्लो समय निलो र सेतो जस्ताका छानो हालेर बनाएको चिटिक्क परेको घरमा सोलारको उज्यालो बालेर बस्न थालेका छन् ।

हेर्दै उराठ लाग्दो फुस्रो डाँडा रहेको रभुँवाघाटमा पछिल्लो समय खरका छाना भएको घर विस्थापित हुने क्रम तीव्र छ । यसअघि रभुँवाघाटका माझी समुदाय सोही घाटमा डुङ्गा चलाउँदा प्राप्त हुने घाटे पाथी (अन्न) ज्याला उठाएर र माछा मारेर बेचेको पैसा वा माछासँग साटेको अन्नले जीविका चलाउँदै आएका थिए ।


रभुँवाघाटमा जन्मिएर सहरमा बसोबास गरिरहेका माझी परिवार वैशाख पूर्णिमा र फागुन तेस्रो साता गरिने कोसी पूजाका बेलामा मात्र गाउँमा भेला हुने गरेका स्थानीय युवा नेता खेमराज देउसालीले बताए । “माझी समुदायका हरेक व्यक्ति अहिले केही न केही पेशामा आवद्ध छन् ।” उनले भने, “उनीहरु विभिन्न पेशामा आवद्ध भएकै कारण गाउँमा बस्न पाउँदैनन् ।”

जिल्लाको लामीडाँडा रभुँवाघाट, घोपाटार, जयरामघाट, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायत सुनकोसी र दूधकोसी किनारमा माझी समुदायको बसोबास छ । लामीडाँडामा मात्र ८७ माझी परिवारको बसोबास छ । तीमध्ये ६२ घर माझी रभुँवाघाटमा रहेको माझी उत्थान सङ्घले जनाएको छ ।

आर्थिक रुपमा समृद्ध हुँदै गएको रभुँवाघाटमा माझी समुदायको बाक्लो बस्ती भएपनि आधारभूत तहको विद्यालयसमेत छैन । माझीगाउँमा रावा कक्षा–३ सम्म पढाइ हुने प्रावि मात्र सञ्चालनमा छ । प्रावि तहको अध्ययन पूरा गरेपछि स्थानीय बालबालिका एक घण्टा उकालो हिँडेर विश्वज्योती मावि जान बाध्य छन् । नजिकमा उच्च शिक्षा आर्जन गर्ने विद्यालय नभएपछि अकिांशले बीचैमा पढाइ छाड्ने गरेका जनाइएको छ । 

गाउँमा शिक्षाको वातावरण सिर्जना गर्न कसैको ध्यान नपुगेको प्रति माझी समुदायको गुनासो छ । वैदेशिक रोजगारीबाट माझी समुदायको आर्थिक उन्नति हुँदै गएपनि शैक्षिकस्तर भने अझै नाजुक छ ।

बराहपोखरी गाउँपालिकाका ७० परिवारलाई निःशुल्क सोलार प्रदान

१३ वैशाख (खोटाङ) : बराहपोखरी गाउँपालिकाभित्र पर्ने ७० घर गरीब परिवारलाई निःशुल्क सोलार वितरण गरिएको छ । सौर्य उर्जा प्रवद्र्धन बोर्डको रु तीन लाख अनुदानमा खरिद गरिएको सोलार निःशुल्क प्रदान गरिएको हो ।

दुई वटा बल्ब, ब्याट्री र आवश्यक तारसहितको सोलार गाउँपालिका उपप्रमुख गोमा मगरले हस्तान्तरण गरेको स्थानीय युवा नेता निश्चल खड्काले जानकारी दिए । अहिलेसम्म केन्द्रीय प्रशारण लाईनको विद्युत विस्तार नभएको उक्त गाउँपालिकामा प्रत्येक वडाका वडाअध्यक्षले गरेको सिफारिसको आधारमा सोलार वितरण गरिएको हो ।

छ वटा वडा रहेको उक्त गाउँपालिकाको वडा नम्बर–१ मा दश, २ र ३ मा आठ÷आठ, ४ मा दश, ५ मा ११ र ६ मा २२ घर परिवारलाई निःशुल्क सोलार वितरण गरिएको जनाइएको छ । लामो समयदेखि अध्यरोमा रात कटाउँदै आएका उक्त गाउँपालिकाका गरीब घरपरिवार दश वाट क्षमताको सोलार पाएपछि हर्षित भएका छन् ।

जिल्लाको दक्षिणी भेगमा पर्ने उक्त गाउँपालिका भौगोलिक दृष्टिले दुर्गम क्षेत्रमा पर्दछ । सडक, खानेपानी, विद्युत तथा सञ्चार लगायतका आधारभूत सेवासुविधा नपुगेको उक्त गाउँपालिकामा पछिल्लो समय धमाधम पूर्वाधार विकासका कामहरु भइरहेको छ ।



स्थानीय जातका कुखुरा मर्न थाले

१३ वैशाख (खोटाङ)- जिल्लाका कृषकले पालेका स्थानीय जातका कुखुरा धमाधम मर्न थालेको छ । सेतो छेर्ने, झोक्राउने, र्याल काढ्ने र टाउको सुन्निने रोगले आफूले पालेका कुखुरा एकपछि अर्को मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

करीब दुई महिनादेखि फैलिएको रोगले जिल्लाका अधिकांश कृषकले पालेको कुखुराको खोर नै रित्तिएको छ । जिल्लाका सबैजसो स्थानीय तहका कृषकले पालेका स्थानीय जातका कुखुरामा यस्तो रोग देखिएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा पालिएका स्थानीय जातका कुखुरा लगभग मरेर सकिएको स्थानीयवासीले बताएका छन् । “शुरुमा एक÷दुई वटामा लक्ष्यण देखिनासाथ औषधि गरियो ।” दिक्तेलस्थित सल्लेरीटोलका गुणराज सैंजूले भने, “औषधिले केही काम गरेन । हप्ता दिनभित्रै सबै म¥यो । अहिले खोर नै रित्तो भएको छ ।”

स्थानीय जातका कुखुरामा देखिएको रोग महामारीकै रुपमा फैलिएको स्थानीयवासीले बताएका छन् । दिक्तेलबजारको सल्लेरीटोलमा पालिएका कुखुरामा महिना दिनअघि देखिएको रोग फैलिएर अहिले रत्नपार्क एरियामा देखिएको छ । 



कुखुरामा देखिएको समस्याका बारेमा अहिलेसम्म आफूहरुसँग कुनै गुनासो नआएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु प्राविधिक गणेश आचार्यले बताए । “अहिले मौषम बदलिँदो छ । यस बेला पशुपन्छीमा सामान्य रोग देखा पर्नु स्वभाविक हो ।” उनले भने, “कुखुरामा देखिएको रोग महामारीकै रुपमा फैलिएको भए जानकारी आउँथ्यो । अहिलेसम्म कुनै गुनासो आएको छैन ।”

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकास्थित बाक्सिलाबजारमा झण्डै डेढ महिना अघिदेखि कुखुरा मर्ने रोग फैलिएको स्थानीय युवा नेता पवन श्रेष्ठले बताए । “अहिले गाउँमा स्थानीय जातका कुखुरा पाउन छाडेको छ ।” उनले भने, “भेटेनरीले दिएको औषधिले पनि कुनै काम गरेन । यसप्रति बेलैमा ध्यान नदिने हो भने, जिल्लामा स्थानीय जातका कुखुरा पाउन गाह्रो हुन्छ ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्थानीय जातका कुखुरा पालनलाई व्यवसायिक रुप नदिएपनि सबैजसो ठाउँमा पाल्ने गरिएको छ । पहाडी भूभाग रहेको खोटाङ जिल्लाका अधिकांश घरमा कम्तिमा १५÷२० वटा कुखुरा पालिएको हुन्छ ।

किराँत समुदायको बर्चस्व रहेको खोटाङमा धेरैजसो कुखुराको भाले पूजाआजा गर्नमा प्रयोग गर्ने चलन छ । किराँत समुदायको उभौली तथा उधौली पर्वको अवसरमा प्रत्येक घर तथा भुमेथानमा कुखुराको भाले काटेर चढाउने गरिन्छ ।

स्थानीय जातका कुखुरामा रोग फैलिएपछि प्रकृतिपूजक किराँत समुदायलाई यस वर्षको उभौली पर्वमा कुखुराको भाले जोगाउन मुस्किल परेको छ । पूजाआज बाहेक आफन्तजन आउँदा तथा कुनै काम समाप्तीपछि कुखुराको भाले काटेर सुप खाने चलन छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा अहिले प्रति केजी रु ६०० देखि ७०० सम्ममा स्थानीय जातका कुखुराको मासु बिक्री हुने गरेको छ । जिल्लामा लाग्ने हाटबजारमा अधिकांश कुखुरा जीउँदै बिक्री गर्ने चलन छ ।

जीउँदो तथा मासु बिक्रीबाट लाखौँको आम्दानी हुने कुखुरा एकपछि अर्को गर्दै धमाधम मर्न थालेपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । उनीहरुले आफूहरुले वर्षौँदेखि पाल्दै आएका स्थानीय जातका कुखुरामा फैलिएको रोग नियन्त्रण गर्न सम्बन्धित निकायलाई ध्यानाकार्षण गराइरहेका छन् ।

जिल्लामा मासुका लागि पालिएका ब्रोइलर कुखुरामा भने अहिलेसम्म रोग देखा नपरेको कृषकहरुले बताएका छन् । सदरमुकाम दिक्तेल लगायत जिल्लाका सबैजसो स्थानीय तहमा मासुका लागि ब्रोइलर तथा अण्डाका लागि लेयर्स कुखुरा पालिएको छ ।