२३ वैशाख (खोटाङ)– तीनजना महिला हत्या घटनाका दोषी अझै पत्ता लाग्न सकेका छैनन् । घटनापछि पीडित बनेका परिवार दोषी पत्ता नलाग्दा दुःखी बनेका छन् ।
खोटाङ गाउँपालिका सिम्पानीकी रीता तामाङ, हलेसी तुवाचुङ नगरपालिकाकी ज्ञानुमाया विश्वकर्मा र जन्तेढुङ्गा गाउँपालिकाकी देवी विश्वकर्माको हत्यारामा संलग्नलाई प्रहरीले पत्ता लगाउन नसकेको हो ।
खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २०७३ माघ २६ गते १७ वर्षीया रीता तामाङको हत्यामा संलग्न अझै पत्तो लागेको छैन ।
सिम्पानी बजारस्थित शिव खडाको होटलमा काम गर्दै आएकी रीता घर नआएपछि खोजीका क्रममा कुशेऔसी जङ्गलको बाटोभन्दा करिब ४० मिटर तल भिरमा मिल्काइएको अवस्थामा मृत फेला परेकी थिइन् । तामाङको हत्यारा पत्ता लगाउन नसकेपछि उनका परिवार विक्षिप्त बनेका छन् ।
घटनास्थल मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीको आशंका गरेको थियो ।
खोटाङस्थित प्रहरीले अनुसन्धान गर्न नसकेपछि रिजनल इन्भेस्टिगेसन टिम आरआईटीलाई आयोगले अनुरोध गरेको थियो । स्थानीयले भने प्रहरी प्रशासन दोषी पत्ता लगाउँन उदासीन बनेको गुनासो गरेका छन् ।
जिल्लास्थित राजनीतिक दल तथा अधिकारकर्मी समेत यो घटनाप्रति संवेदनशील नबनेको उनीहरूको गुनासो छ । यो घटनाका दोषी पत्ता नलागेपछि स्थानीय झन त्रासित बनेका छन् । दोषी निर्धक्कसाथ हिँडिरहेको तर प्रहरी प्रशासन भने अनुसन्धानमा उदासीन बनेको रीताका बुवा वीरबहादुरले गुनासो गरेका छन् ।
त्यस्तै २०७४ साउन ४ मा मृत फेला परेकी जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषीको अझै पत्तो लाग्न सकेको छैन । जन्तेढुङ्गा गाउँपालिका ४ शिवालयस्थित माइतीबाट घर फर्कने क्रममा सम्पर्कविहीन भएको दोस्रो दिन विश्वकर्मा मृत फेला परेकी थिइन् । विश्वकर्माको शव सडकभन्दा करिब पाँच सय मिटर तल फेला परेको थियो ।
कम्बरमुनिको कपडा खोलिएको र नाकबाट रगत बगेको अवस्थामा विश्वकर्माको शव फेला परेको थियो । हलेसी तुवाचुङ नगरपालिकाकी ज्ञानुमाया विश्वकर्मा हत्यामा संलग्न पनि अझै पत्तो लागेको छैन । २०७४ जेठ १६ गते स्थानीय गुँरासेडाँडामुनि मृत फेला परेकी थिइन् ।
यसबारेमा खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार केसीले भने अनुसन्धान भइरहेको बताउँदै आएका छन् । हत्यारा पत्ता लगाउन सम्बन्धित निकाय संवेदनशील नभएको पूर्व सभासद तथा नेकपा केन्द्रीय सदस्य दुर्गाजयन्ती राईको गुनासो छ ।
No comments:
Post a Comment