१८ वैशाख (खोटाङ)–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलबजारमा खानेपानीको हाहाकार भएको छ । नजिकमा पर्याप्त मुहान नहुनु, समय–समयमा मुहान सरसफाइमा ध्यान नदिनु र उचित व्यवस्थापन नहुनुले जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको दिक्तेलबजारमा खानेपानीको हाहाकार भएको हो ।
कहिले धारामा पानी नै नआउने, आइहाले पनि फोहर तथा दुषित पानी आउने, बिग्रिएको ठाउँमा हप्तौँसम्म मर्मत नगरी दिने उपभोक्ताको गुनासो छ । भनेको समयमा र प्रयाप्त पानी नआएपछि कतिपय उपभोक्ता गाउँगाउँमा पुगेर धारा तथा कुवाबाट पानी ल्याएर उपभोग गर्न बाध्य छन् ।
उपभोक्तालाई खानेपानी सम्बन्धी ठूलो समस्या हुँदाहुँदै पनि व्यवस्थापन गर्ने जिम्मा लिएका उपभोक्ता समितिले उपभोक्ताबाट उल्टै चर्को शुल्क लिने गरेको पनि गुनासो आएको छ । धारामा पानी आवसकी नआवस भाडामा बस्नेले घरबेटीलाई मासिक शुल्क तिरिरहनुपर्ने बाध्यता रहेको भाडाका घरमा बस्ने उपभोक्ताले बताएका छन् ।
खानेपानी उपभोक्ता समितिका पदाधिकारीले आफ्ना नजिकका केही व्यक्तिकामा तीन÷चारवटासम्म धारा बाँडेको र उनीहरुकामा चौबीसै घण्टा पानी आउने गरेको पनि एक उपभोक्ताले आरोप लगाएका छन् । नाम नभन्ने शर्तमा उनले भने, “मैले दुई वर्ष दिनअघि एउटा धाराका लागि रितपूर्वक निवेदन दिएको थिएँ, अहिलेसम्म उपभोक्ता समितिले मलाई धारा दिएको छैन ।”
दिक्तेलबजारमा भएको खानेपानीको समस्या समाधान गर्न खानेपानी व्यवस्थापनको जिम्मा पाएको उपभोक्ता समितिको जिम्मेवारी निक्कै महत्वपूर्ण रहन्छ । तर, दिक्तेलको लागि १९ वर्ष अघि शुरु गरिएको खानेपानी योजना अहिले अलपत्र अवस्थामा छ ।
निक्कै महत्वकासाथ हेरिएको खानेपानी योजना ‘दिक्तेल बजार सुधार बिस्तार खानेपानी योजना’ हाल अलपत्र छ । उक्त योजना केही व्यक्तिको कमाइ खाने भाँडो मात्र बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका अध्यक्ष जीवनकुमार श्रेष्ठको आरोप छ ।
“वार्षिक रुपमा बजेट बिनियोजन हुन्थ्यो तर, अहिलेसम्म काम भएन ”, उनले भने, “बिनियोजित बजेट क–कस्को गोजीमा गएको छ ! अहिलेको स्थानीय तहका जनप्रतिनिधिले खोजीखोजी कारबाही गर्नुपर्छ । कसैलाई पनि छाड्नुहुन्न ।”
डेढ लाख लिटर पानी जम्मा हुने ट्याङकी दिक्तेलको थामखोरेडाँडामा निर्माण गरिएपनि शुचारु नभइ अलपत्र अवस्थामा छ । झाडीभित्र अलपत्र अवस्थामा छाडिएको थामखोरेडाँडाको ट्याङकीदेखि हाटडाडाँसम्म जिआई पाईप बिछ्याइए पनि हालसम्म प्रयोग गरिएको छैन ।
अलपत्र अवस्थामा छाडिएको योजनाका लागि हालसम्म रु. तीन करोड ७४ लाख बढी खर्च भइसकेको अनुमान गरिएको छ । “योजना निर्माणको जिम्मा पाएका केही व्यक्तिले कामै नगरी बिलभर्पाई गर्ने गरेका थिए ”, राप्रपाका अध्यक्ष श्रेष्ठले भने, “यसप्रति सम्बन्धित निकायले चासो दिनुपर्छ ।”
दिक्तेलबजारमा हिउँद÷वर्षा बाह्रै मास खानेपानीको समस्या हुने गरेको छ । १५ वटा वडा रहेको नगरको केन्द्र रहेको दिक्तेलबजारमा दुई वटा मुहानमार्फत ७३० वटा धारा वितरण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको सिरानमा रहेको रम्बाखोला र माझखोला मुहान यही वैशाख १२ गते आएको बाढीले पुरिदिँदा दुई दिनसम्म खानेपानी अवरुद्ध भएको थियो ।
दिक्तेलबजारमा विस्तार गरिएको खानेपानीको दुवै मुहान खुला ठाउँमा रहेकाले पटक–पटक समस्या आउने गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताएका छन् । “खुला ठाउँमा रहेका कारण दिक्तेलबजारमा विस्तार गरिएको खानेपानीमा ३० प्रतिशत कोलिफर्म (दिशामा पाइने किटानु) रहेको पाइएको छ ” उनले भने, “प्रशोधन गरेर मात्र उपभोग गर्न सबै उपभोक्तालाई अनुरोध गरेका छौँ ।”
दिक्तेलबजारमा देखिएको खानेपानीको समस्या समाधान गर्न नगरपालिकाको तर्फबाट पहल भइरहेको नगरप्रमुख दिपनारायण रिजालले बताए । “खानेपानी विस्तारका लागि भर्खरै मात्र ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम शुरु गरिएको छ ”, उनले भने, “आगामी डेढ वर्षभित्र दिक्तेलबजारमा देखिएको खानेपानी सम्बन्धी सबै समस्या समाधान हुन्छ ।”
दिक्तेलबजारमा देखिएको खानेपानी समस्या समाधान गर्न साना शहरी खानेपानी तथा सरसफाइ आयोजना शुरु गरिएको छ । दिक्तेलबजार र बाम्राङका स्थानीयवासीलाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी वितरण गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको खानेपानी आयोजनाको जिम्मा आशिष निर्माण कम्पनीले लिएको छ ।
रु २२ करोड ५५ लाख ५८ हजार लागतमा १८ महिनाभित्र सम्पन्न गर्ने गरी काम शुरु गरिएको आयोजनाको शिलान्यास गत चैत २४ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गरेका थिए । नेपाल सरकारको ७०, काठमाडौं महानगरपालिकाको नगर विकास कोषमार्फत २० र उपभोक्ताको पाँच प्रतिशत लगानीमा सम्पन्न हुने आयोजनामार्फत मुहान संरक्षण तथा नयाँ मुहान थप, ट्याङ्की निर्माण, घरघरमा विस्तार गरिएको धारामा मिटर जडान लगायतका काम गरिने जनाइएको छ ।
No comments:
Post a Comment