Thursday, May 2, 2019

नेपालीकै पैसाले देशकै ठूलो दूधकोशी हाइड्रोपावर खोटाङमा बन्दै

खोटाङ, १९ वैशाख–देशको राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको दुधकोशी जलविद्युत परियोजना अब नेपाली लगानीमा नै बन्ने भएको छ । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब ७ सय मेगावाटको देशकै ठूलो क्षमताको दूधकोशी हाइड्रोपावर नेपाली लगानीमा नै बन्ने घोषणा गरेका हुन् । त्योपनि तामाकोशीकै मोडेलमा नेपालीकै पैसाबाट फाष्ट रोड मोडलमा बनाइने छ ।

खोटाङका स्थानीय जनता र सबै नेपाली जनताको शेयर लगानीमा अघि बढाइने यो आयोजना निकै आकर्षक हुने घिसिङको दाबी छ । 

एशियाली विकास बैंकले यसको विस्तृत परियोजना बनाइरहेको र विद्युत प्राधिकरणले तामाकोशीमा जस्तै कम्पनीको ड्राफ्टसमेत तयार पारिसकेको घिसिङले जानकारी दिए । 

केही समयअघि मात्र दोलखाको लामाबगरस्थित तामाकोशी जलविद्युत परियोजनाको अवलोकन गरेर खोटाङको दिक्तेल पुगेका कार्यकारी निर्देशक घिसिङले दूधकोशी परियोजनाबारे खोटाङे जनतालाई यसरी सुनाए–

दूधकोशी हाइड्रोपावर प्रोजेक्ट अहिले हामीले, विद्युत प्राधिकरणले नै हेरिरहेका छौं । यसलाई ‘फास्ट ट्रयाक’मा लैजाने भनेर सरकारकै कार्यक्रममार्फत ‘जनताको जलविद्युत’ का रुपमा अगाडि बढाउन हामीले कम्पनी स्थापनाको प्रक्रिया अघि बढाएका छौं ।

यसलाई तामाकोशीकै मोडेलमा अगाडि बढाउने भनेर कम्पनी दर्ता गराउन खोजिरहेका छौं । विद्युत प्राधिकरणको बोर्डले मन्त्रालयको निर्देशनमा कम्पनी खोल्ने भनेर निर्णय पनि गरिसकेको छ । कम्पनीको ड्राफ्ट तयार भइसकेको छ । अब चाँडै नै कम्पनी दर्ता हुन्छ ।

करीब ६ सयदेखि ७ सय मेगावाटमा यसको डिजाइन हुन्छ । यसका लागि कन्सल्टेन्टको नियुक्ति भइसकेको छ । एडीबीको फन्डिङ प्रोजेक्ट भएकाले फण्डको पनि त्यति समस्या छैन । एडीबीले अहिले विस्तृत डिजाइन गरिरहेको छ । यसको काम अब एकदमै ‘फास्ट ट्रयाक’ मा जान्छ ।

खोटाङका जनता एवं नेपाली जनता सबैको सेयर लगानीमा दूधकोशी हाइड्रोपावर प्रोजेक्ट अगाडि बढाउने योजना बनाएर हामी अगाडि बढेका छौं । यो रिजर्भवायर प्रोजेक्ट नेपालका लागि एकदमै जरुरी छ । रिजर्भवायर प्रोजेक्टमा पनि एकदमै राम्रो प्रोजेक्ट हो ।

यो परियोजना पुनस्थापनाको हिसाबले, बस्ती डुवानको हिसाबले एकदमै राम्रो प्रोजेक्ट भन्ने देखिएको छ । मैले त हेरेको छैन, तर एकदमै कम वस्ती डुवान हुन्छ रे । हाम्रो रिपोर्टमा त्यो उल्लेख छ ।



कमला डाइभर्सनले समस्या
दूधकोशीको यो प्रोजेक्टमा अलिकति समस्या के छ भने यहाँबाट निस्किएको पानी कमला डाइभर्सनभन्दा माथि नै झार्नुपर्छ भन्ने कमला डाइभर्सनको शर्त छ । 

त्यसैले यो प्रोजेक्टलाई अलिकति हामी प्लान नै गर्दैछौं । कमला डाइभर्सनभन्दा तल पानी झार्यो भने यो प्रोजेक्ट एकदमै प्रभावकारी हुन्छ । र, एकदमै फेन्टास्टिक प्रोजेक्ट बन्छ यो ।

कमला डाइभर्सनभन्दा माथि पानी फाल्यो भने टनेलको लेन्थ पनि एकदमै लामो हुने भएकाले यसलाई अलिकति समस्या पर्न सक्छ । तर, हामी उपयुक्त डिजाइन गरेर यसलाई अघि बढाउँछौं । 

यो आयोजना अब चाँडै नै अघि बढ्छ । यो उनको प्रतिवद्धताले खोटाङका जनतामा खुशीको बहार त आएको छ नै देशभरीका जनताको भविष्य बनाउने योजनाले सबै नेपालीलाई खुशी थपेको छ ।

No comments:

Post a Comment