२८ वैशाख (खोटाङ)–खोटाङमा मापसे गरेर प्रअमाथि हातपातको प्रयास गर्ने शिक्षक पक्राउ परेका छन् । व्यवस्थापन समितिको बैठक चलिरहेका समयमा मादक पदार्थ सेवन गरेर प्रअमाथि हातपात गर्न खोजेकामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई पक्राउ परेका हुन् ।
सट्टा शिक्षक राख्ने विषयमा शुक्रबार बसेको बिव्यासको बैठकमा शिक्षक राईले प्रअ टेकबहादुर राईमाथि हातपातको प्रयास गरेपछि ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका शिक्षकको मेडिकल चेक गरेर नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । सोही विद्यालयमा कार्यरत शिक्षक इच्छाराम राईले व्यक्तीगत समस्या कारण सट्टा शिक्षक राखेर पठन–पाठन गर्नका लागि बैसाख १५ गते निबेदन दिएपछि छलफल गर्न बोलाइएको बैठकमा शिक्षक राईले प्रअमाथि कुर्सी उठाएर हान्ने प्रयास गरेको विव्यास अध्यक्ष राजन राईले बताए ।
आक्रमण रोक्न खोज्दा वडा सदस्य फलामसिं राईको खुट्टामा सामान्य चोट लागेको छ । सट्टा शिक्षक राख्न निबेदन आएपनि नियम अनुशार सट्टा शिक्षक राख्न नसकिने निर्णय गर्न लाग्दा प्रअमाथि आक्रमणको प्रयास भएको हो ।
मापसे गरेर प्रअमाथि आक्रमण गर्न खोजेको जानकारी आएपछि प्रहरी र कर्मचारीलाई पठाएर शिक्षक राईलाई नियन्त्रणमा लिइएको नगर प्रमुख इवन राईले बताए । नगरपालिकाले शैक्षिक–सत्र २०७६ लाई शैक्षिक सुधार वर्षकारुपमा रुपान्तरण गर्ने प्रतिवद्धता जुटाएको हप्ता दिन नबित्दै शिक्षक राई पक्राउ परेका हुन् ।
शिक्षा नियमावली बिरुद्धको आचरण देखाउने शिक्षकलाई कानुनी कारबाही गरिने मेयर राईले बताए । ‘नगरका सरोकारवाला पक्षलाई बोलाएर शैक्षिक सुधारको वर्ष बनाउन प्रतिवद्धता जनाएको हप्ता दिन नवित्दै शिक्षकको यस्तो हर्कत सुनियो,’ मेयर राईले भने, ‘शैक्षिक सुधारको वर्ष बनाउनेक्रममा वाधक जो सुकैलाई कडा कानुनी कारबाही हुन्छ ।’
No comments:
Post a Comment