२० वैशाख (खोटाङ)–स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपश्चात बारम्बार विवादमा आईरहेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई विरुद्ध यतिबेला दिप्रुङबासी आन्दोलित बनेका छन् ।
आफ्नै निकटका कार्यकर्तादेखि पुरै गाउँपालिकाबासीलाई रुष्ट बनाएका अध्यक्षले पछिल्लो समय फेरी सोही हर्कत दोहो¥याएका छन् । यतिबेला अध्यक्ष विरुद्ध गाउँपालिकाभरीका शिक्षक, अभिभावक र विद्यार्थी आन्दोलन गरिरहेका छन् ।
गत वैशाख ११ गते बसेको कार्यपालिकाको बैठकले शिक्षक दरवन्दी मिलान गर्ने क्रममा आफूखुशी शिक्षकहरुलाई सरुवा गरेको तथा शिक्षक र विद्यार्थी अनुपात हिसाब नगरी सरुवा तथा दरवन्दी मिलान गरेपछि अध्यक्ष विरुद्ध बिहीबारदेखि नारावाजी र आन्दोलनका कार्यक्रम भईरहेका छन् ।
अध्यक्ष विरुद्ध डाँडागाउँबाट सुरु भएको आन्दोलनले यतिबेला व्यापक रुप लिएको छ । आन्दोलनलाई टेम्मा, याम्खा, छोरम्बु, बतासे र छितापोखरीका विद्यालयले पनि ऐक्यवद्धता जनाएका छन् । आन्दोलनको पहिलो दिन अध्यक्ष विरुद्ध नारावाजी हुनुका साथै दरवन्दी मिलान र सरुवा खारेज गर्नुपर्ने माग सहित गाउँपालिकाका उपप्रमुख सपना राई समक्ष ज्ञापन पत्र बुझाईएको संघर्ष समितिका सचिव दिपक पौडेलले बताए ।
आन्दोलनकै क्रममा आज शुक्रबार विज्ञप्ती प्रकाशित गरिने र आगामी २६ गतेसम्म गाउँपालिकाको निर्णय फिर्ता गर्न अल्टिमेटम दिईने उनले बताए । उक्त अल्टीमेटमभित्र माग पुरा नभए वैशाख २७ गतेदेखि अनिश्चितकालिन पालिकाभरीमा शैक्षिक हड्ताल गर्ने चेतावनी दिईएको छ ।
कार्यपालिकाको बैठकले पालिकाभरीका करीव २० जना शिक्षकहरुलाई दरवन्दी मिलानको नाम लिएर ऐन नियम विरुद्ध सरुवा गरेको आन्दोलनकर्ताहरुले बताएका छन् । शिक्षक दरवन्दी खाली भएका विद्यालयहरुमा विद्यार्थी संख्या हेरी अनुदान कोटा सृजना गर्नुपर्नेमा अध्यक्ष राईले आफूखुशी दरवन्दी मिलानको नाममा शिक्षकहरुकै सरुवा गरेको बताईएको छ । आन्दोलनकारीहरुले गाउँपालिकाको शिक्षा ऐन समेत खारेजको माग गरेको छ ।
No comments:
Post a Comment