Thursday, May 23, 2019

महिला मृत फेला

खोटाङ, जेठ १० : खोटाङमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । बराहपोखरी गाउँपालिका–६ मौवाबोटे डाँडाघरकी सरस्वती राई मृत फेला परेकी हुन् । 

जन्तेढुंगा गाउँपालिका–२ बोपुङ माईती घर भएकी राई बुधबार निभारोकोरुखमा झुण्डिएको अवस्थामा फेला परेको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका वडाध्यक्ष बिदुरमान राईले बताए । 

मृतकको शरीमा निलडाम देखिएकाले राईको कुटपिटपछि हत्या गरिएको वा यातनाका कारण आत्महत्या गरेको आफन्तले बताएका छन् । 

मृतकको शव पोष्टमार्टमका लागि बिहिबार प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा ल्याइएको छ । शुक्रबार पोष्टमार्टम गरेर शव आफन्तलाई जिम्मा दिने तयारी गरिएको वडाध्यक्ष राईले बताए । राईको मृत्युलाई आफन्तले शंकास्पद मानेका छन् । 


Saturday, May 18, 2019

खानेपानीमै चरम विभेद र विवाद

खोटाङ ५ जेठ । विभिन्न जातजाती, भाषाभाषी, राजनीतिक आस्था, संस्कार सँस्कृति र धर्म पर्वको मिलन केन्द्र हो– खोटाङ । तर त्यहीँ खोटाङमा खानेपानीमा समेत विभेद छ भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ ।

तर, तपाई हलेसी नगरपालिकास्थित वडा–३ च्यास्मिटार, बालम्बारी पुग्नु भयो भने कसैले सरकारी योजनाको पानी पिइरहेको त कसैले पिउन नै नपाएको दृश्य देख्न सक्नुहुन्छ । त्यो पनि २२ घरधुरी रहेको बालम्बारीमा चार घरधुरीको उपस्थितिमा आफूखुसी उपभोक्ता समिति गठन गरेर पानी पिइरहेका छन् भने अन्य १८ घर परिवारलाई पुरै वञ्चित गरिएको छ ।

४ घरधुरीबाट पानीको विभेदमा परेका १८ घर परिवार मध्येका एक सदस्यले आफूहरुले पानी माग्दा हामीलाई मात्र आएको भन्दै नदिएको गुनासो गरे । ‘सरकारी बजेट सही सदुपयोग हुनपर्यो, १८ घर परिवार वञ्चित हुने चार परिवारले मनोमानी गर्ने भएन’ उनले भने ।

चार घर परिवार मिलेर बालम्बारी खानेपानी योजना नामक उपभोक्ता समिति गठन गरेका थिए । उनीहरूले पुरै गाउँको सहमतिमा समिति गठन भएको भन्दै वडा अध्यक्ष भलाराज राईलाई नगरपालिका समक्ष सिफारिस गरिदिन आग्रह गरेका थिए । वडाअध्यक्षले पनि सिफारिस गरेको पाइएको छ । तर, समितिमा भने चार परिवारका नातागोता मात्र राखिएको पाइएको छ, गाउँको सहमति पनि नगरेको र योजना ल्याएपछि पानी खान पिउन पनि नदिएको पाइएको छ । 

वडा अध्यक्ष भलराज राईले आफूले खानेपानीमा विवाद रहेको र मिलाउन पहल गर्दा नसकेको बताए । ‘उहाँहरुले उपभोक्ता समिति गठन गरेर आउनु भयो, मैले त गाउँ मिलेर नै होला भनेर नगरपालिकामा सिफारिस गरे, तर पछि बजेट निकासापछि मात्र थाहा पाएँ, गैरकानुनी ढंगले समिति गठन गर्नु भएको छ, मलाई यसमा फसाइयो हजुर ।’ उनले भने । वडा अध्यक्ष राईले आफूले मिलाउन पहल गर्दा नसकेपछि न्यायिक समितिमा सिफारिस गरेको जनाए ।

सब इन्जिनियर अग्निराज राईले तयार पारेको लागत रकम अनुसार खानेपानी योजनाको लागत १० लाख ९५ हजार २ सय ५ राखिएको छ । त्यसमा नगरपालिकाबाट ८ लाख ८८ हजार ६ सय ५४ रहेको छ भने लाभग्राहीबाट २ लाख ६ हजार ५ सय ५० राखिएको छ । नगरपालिकाले बजेट किस्तामा उपलब्ध गराउनुपर्नेमा एकैचोटी रकम उपलब्ध गराएको स्रोत बताउँछ । विवाद सिर्जना हुनुमा नगरपालिकाको उच्च नेतृत्व पनि संलग्न रहेको स्थानीयले आशंका गरेका छन् ।


Saturday, May 11, 2019

ढुंगाले लागेर युवकको मृत्यु

२९ वैशाख (खोटाङ)- गिटी कुटिरहेको समयमा माथिबाट खसेको ढुंगाले लाग्दा खोटाङमा एक युवकको मृत्यु भएको छ । कुलो निर्माणका लागि आवश्यक गिटी कुटिरहेका समयमा माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाईते भएका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका २३ वर्षीय शंकर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिए ।

शनिवार ११ बजेतिर माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाईते भएका कार्कीको थप उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा बाटैमा मृत्यु भएको प्रहरी निरिक्षक कट्वालले बताए ।

कार्कीलाई राजापानीको पाटीटारमा ढुंगाले लागेको हो । ढुंगाले लागेपछि गम्भीर घाईते भएका कार्कीको स्वास्थ्यचौकी बुईपामा सामान्य उपचारपछि धरान लैजानेक्रममा राजापानीको रेग्मीटारमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीको भनाइछ ।

Friday, May 10, 2019

मापसे गरेर प्रअमाथि कुर्सी उज्याउँदा ...

२८ वैशाख (खोटाङ)–खोटाङमा मापसे गरेर प्रअमाथि हातपातको प्रयास गर्ने शिक्षक पक्राउ परेका छन् । व्यवस्थापन समितिको बैठक चलिरहेका समयमा मादक पदार्थ सेवन गरेर प्रअमाथि हातपात गर्न खोजेकामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई पक्राउ परेका हुन् । 

सट्टा शिक्षक राख्ने विषयमा शुक्रबार बसेको बिव्यासको बैठकमा शिक्षक राईले प्रअ टेकबहादुर राईमाथि हातपातको प्रयास गरेपछि ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका शिक्षकको मेडिकल चेक गरेर नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । सोही विद्यालयमा कार्यरत शिक्षक इच्छाराम राईले व्यक्तीगत समस्या कारण सट्टा शिक्षक राखेर पठन–पाठन गर्नका लागि बैसाख १५ गते निबेदन दिएपछि छलफल गर्न बोलाइएको बैठकमा शिक्षक राईले प्रअमाथि कुर्सी उठाएर हान्ने प्रयास गरेको विव्यास अध्यक्ष राजन राईले बताए । 

आक्रमण रोक्न खोज्दा वडा सदस्य फलामसिं राईको खुट्टामा सामान्य चोट लागेको छ । सट्टा शिक्षक राख्न निबेदन आएपनि नियम अनुशार सट्टा शिक्षक राख्न नसकिने निर्णय गर्न लाग्दा प्रअमाथि आक्रमणको प्रयास भएको हो । 

मापसे गरेर प्रअमाथि आक्रमण गर्न खोजेको जानकारी आएपछि प्रहरी र कर्मचारीलाई पठाएर शिक्षक राईलाई नियन्त्रणमा लिइएको नगर प्रमुख इवन राईले बताए । नगरपालिकाले शैक्षिक–सत्र २०७६ लाई शैक्षिक सुधार वर्षकारुपमा रुपान्तरण गर्ने प्रतिवद्धता जुटाएको हप्ता दिन नबित्दै शिक्षक राई पक्राउ परेका हुन् । 

शिक्षा नियमावली बिरुद्धको आचरण देखाउने शिक्षकलाई कानुनी कारबाही गरिने मेयर राईले बताए । ‘नगरका सरोकारवाला पक्षलाई बोलाएर शैक्षिक सुधारको वर्ष बनाउन प्रतिवद्धता जनाएको हप्ता दिन नवित्दै शिक्षकको यस्तो हर्कत सुनियो,’ मेयर राईले भने, ‘शैक्षिक सुधारको वर्ष बनाउनेक्रममा वाधक जो सुकैलाई कडा कानुनी कारबाही हुन्छ ।’ 



Thursday, May 9, 2019

किरावि संघको राष्ट्रिय सम्मेलन सुरु

खोटाङ, बैसाख २६ – खोटाङमा किरात राई बिद्यार्थी संघ केन्द्रिय समितिको ९ औं राष्ट्रिय सम्मेलन सुरु भएको छ । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किरात स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित सुरु भएको सम्मेलन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिबस राईले उद्घाटन गरेका हुन् । 

बिहिबार दिउँसो हेलीप्याडमा तीन चुल्होमा आगो बालेर उद्घाटन गरिएको तीन दिने सम्मेलनले नयाँ नेतृत्व चयन एबं भावी कार्यदिशा तय गर्दै सम्पन्न हुने संघले जनाएको छ । संघको राष्ट्रिय सम्मेलनमा पुर्वी नेपालका १४ जिल्ला र उपत्यकाका तीन जिल्लाका प्रतिनिधि एबं पर्यवेक्षकको उपस्थिति रहेको छ । 

सम्मेलन उद्घाटन अघि संघले दिक्तेल बजारमा ¥याली निकालेको थियो । साँस्कृतिक झाँकी सहितको ¥यालीमा बहुभाषिक बिश्वविद्यालय, बैज्ञानिक शिक्षा प्रणाली लगायतको माग गरिएको छ । संघको राष्ट्रिय सम्मेलनका कारण हुने जमघटले जिल्लाको आर्थिक र सामाजिक क्षेत्रमा समेत फाईदा पुग्ने भएकाले सम्मेलनलाई भव्य बनाउन लागि यायोक्खा समेत लागि परेको थियो । 


Wednesday, May 8, 2019

खोटाङका मगर कुवेतमा विचल्ली

२६ वैशाख (खोटाङ)– कुबेतमा भएको सडक दुर्घटनामा गम्भीर घाईते भएका एक नेपाली ७ महिनादेखि अस्पतालको बेडमा छट्पटाइरहेका छन् ।

ड्युटी जानेक्रममा भएको सडक दुर्घटनामा गम्भीर घाईते भएका खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका गंगावहादुर गुर्मछाने मगरलाई गत भदौदेखि कुवेतको जहारा अस्पतालमा राखिएको छ ।

रोजगारीका सिलसिलामा कम्बाइन ग्रुपमा काम गर्न पुगेको तीन महिना नबित्दै मगर सडक दुर्घटनामा परेका थिए । २०७५ साल असार ३ गते कुवेत पुगेका मगर गत भदौ ३१ गते भएको सडक दुर्घटनामा गम्भीर घाईते भएको कुबेतमा रहेका आफन्त केदार आले मगरले बताए ।


होस गुमेको र उठ्बस गर्न नसक्ने अवस्थाका मगरको दिशापिसाव ओछ्यानमै भइरहेको छ । दुर्घटनाको गहिरो अशर मष्तिष्कमा परेकाले दिमाग सामान्य अवस्थामा आउन समय लाग्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको भनाई उद्धृत गर्दै मगरले बताए ।

होस गुमेका कारण घाईतेले हालसम्म आफन्तलाई समेत चिन्न सकेका छैनन् । उनी आफू ‘कहाँ छु’ भन्ने पनि थाहा नपाउने अवस्थामा छन् । अस्पतालको बेडमा बेहोसमा मनपरी बोल्ने गरेका छन् ।

स्वास्थ्यमा केही सुधार आएको छ, तर दिमाग ठीकमा छैन । के–के बोल्छ थाहा पाइन्दैन, कहाँ छु भन्ने पनि थाहा पाउँदैन,’ मगरले भने, ‘डाक्टर र नर्सले दिमागमा अशर परेकाले सुधार हुन निकै समय लाग्छ भनेको छ ।’

उपचार खर्च जुटाउन विभिन्न देशमा अभियान
आर्थिक अवस्था नाजुक भएका गंगाबहादुर गुर्मछाने मगरलाई स्वदेश फर्काएर थप उपचार गर्ने व्यवस्थाका लागि कुवेत, मलेसिया, कतार, दुवई, साउदी लगायतका देशमा सहयोग रकम संकलन अभियान चलाइएको छ ।

नेपाली दुतावास र कम्पनीको पहलमा मगरलाई नेपाल फिर्ता ल्याउने तयारी भइरहे पनि थप उपचारमा आर्थिक समस्या हुने भएकाले विभिन्न देशमा ‘गंगाबहादुर गुर्मछाने मगर उपचार सहयोग संकलन’ अभियान थालिएको हो ।

घाईते मगरलाई नेपाल फर्काइए पनि उनले कानूनी रुपमा पाउनुपर्ने रकम प्राप्त हुन समय लाग्ने भएकाले उपचारलाई निरन्तरता दिनका लागि सहयोगको याचना गरिएको केदार आले मगरले बताए ।

गंगाबहादुरलाई नेपाल फर्काउनका लागि कागजी प्रकृया अघि बढाई सकिएको दुतावासले जानकारी दिएको छ,’ मगरले भने, ‘नेपाल फर्काएर मात्र भएन, उपचारलाई निरन्तरता दिनुप¥यो । घरको आर्थिक अवस्था नाजुक भएकाले सहयोगका लागि देश बिदेशमा रहेका नेपालीलाई आग्रह गरेका छौँ ।’

मगरको उपचारका लागि उनकी श्रीमती दिलकुमारी मगरको नाममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड गाईघाट शाखामा खोलिएको खाता २०९००९३७६१० सहयोग रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै, कुवेतमा केदार आले मगर, हादिरा पुमा छा अनिल, दिपेन दाहाल, जगत मगर र अर्जुन मगर, कतारमा चुडामनी दाहाल र राम मगर, मलेसियामा चन्द्र गुर्मछान मगर र पुकल श्रेष्ठ, दुबईमा राजेन डिसी, चन्द्र बुर्जा मगर र बम मगर तथा साउदीमा कबिराज मगर, नविन खपाङ्गी र मनोज खपांगीमार्फत सहयोग संकलन गर्ने व्यवस्था गरिएको मगरले बताए ।

बलत्कार प्रयासका आरोपित विरुद्ध मुद्दा

२५ वैशाख (खोटाङ)–जबरजस्ती करणी गर्न खोजेको अभियोगमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ५४ वर्षीय कुमार बिक विरुद्ध जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता भएको छ । 

४० वर्षीय महिलालाई जवरजस्ती करण गर्न खोजेको उजुरीका आधारमा बिक विरुद्ध मंगलबार जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कट्वालले बताउनुभयो । 

उजुरी लगत्तै सोमबार पक्राउ परेका बिकलाई मंगलबार दिक्तेल ल्याएर जिल्ला अदालतमा मुद्धा दर्ता गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीमाथि बैसाख २२ गते महिलालाई जवरजस्ती गर्न खोजेको अभियोग छ । 


Monday, May 6, 2019

रोकियो बालविवाह

२४ वैशाख (खोटाङ)–खोटाङमा हुन लागेको वालविवाह रोकिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा कानुन विपरीत हुन लागेको वालविवाह रोकिएको हो ।

त्यहाँ वालविवाह हुन लागेको भनेर प्रहरीलाई खबर आएपछि प्रहरी टोली नपुग्दै भोजपुरवाट आएका जन्ती भागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिए । 

सोमबार राती कानुन विपरीत विवाह हुन लागेको सूचना आएपछि राती ९ :३० वजे विवाह हुने घरमा प्रहरी पुग्दा जन्ती भागिसकेका थिए ।

महिला र पुरुषले २० वर्ष नपुगी विवाह गरेमा त्यो कानुन विपरीत हुनेछ । लुकीछिपी वालविवाह गरेको थाहा पाएमा समेत स्वतः त्यो बद्धर हुने कानुनमा उल्लेख छ । 

२० वर्षमुनी विवाह गरेमा तीन वर्षसम्म कैद र ३० हजार जरिवाना तिर्नुपर्ने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख गरिएको छ ।


करदाता सेवा कार्यालय प्रतिनिधिसभा सदस्य भट्टराईद्धारा उद्घाटन, कर तिर्न प्रदेश नं. २ पुग्नुपर्ने वाध्यता हट्यो

२३ वैशाख (खोटाङ)–खोटाङको दिक्तेलमा करदाता सेवा कार्यालय औपचारिक रुपमा उद्घाटन गरिएको छ । आज आईतबार प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले औपचारिक रुपमा कर कार्यालयको उद्घाटन गरेका हुन् । 

करदाता सेवा कार्यालय स्थापना भएपछि कर चुक्ताका लागि प्रदेश नम्बर १ बाट प्रदेश नम्बर २ मा पुग्नुपर्ने बाध्यता अन्त्य भएकोमा खुशी व्यक्त गर्दै प्रतिनिधिसभा सदस्य भट्टराईले एक दिनदेखि दुई दिन लगाएर दोब्बर खर्चमा सिराहाको लहान पुगेर कर चुक्ता गर्दै आएका स्थानीयलाई जिल्लामै कर बुझाउन पाउने वाताबरण तयार भएको बताए ।


जिल्लामा करदाता सेवाको कार्यालय स्थापना भएपछि करका वारेमा जानकारी बढ्ने तथा कर छलीजस्ता क्रियाकलाप नहुने भट्टराईको भनाई थियो ।

भ्याट, पान लगायतका कर सम्वन्धी कामका लागि सिराहाको लाहान पुग्नुपर्ने बाध्यता अन्त्याका लागि दिक्तेलमा करदाता सेवा कार्यालय स्थापना गरिएको हो । राष्ट्रिय बाणिज्य बैंक र जिल्ला प्रहरी कार्यालय नजिकै स्थापना गरिएको करदाता सेवा कार्यालय उद्घाटन गरिएको हो ।

कार्यालयबाट स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मुल्या अभिबृद्धि कर दर्ता, अन्तशुल्क इजाजत तथा नविकरण, कर संकलन, करदाताको विवरण संशोधन लगायतका सेवा प्रवाह गरिने करदाता सेवा कार्यालय दिक्तेलका प्रमुख गोपाल राईले बताए ।  

औपचारिक रुपमा करदाता सेवा कार्यालयको उद्घाटन आज गरिए पनि कर सम्बन्धीका सम्पूर्ण काम यसअघिदेखि नै हुँदै आएको थियो । खोटाङमा २ हजार ८ सय ५३ बढी करदाता रहेका छन् ।



वर्षौ बित्यो तर ३ महिला हत्यारा पत्तो लागेन

२३ वैशाख (खोटाङ)– तीनजना महिला हत्या घटनाका दोषी अझै पत्ता लाग्न सकेका छैनन्  । घटनापछि पीडित बनेका परिवार दोषी पत्ता नलाग्दा दुःखी बनेका छन्  ।

खोटाङ गाउँपालिका सिम्पानीकी रीता तामाङ, हलेसी तुवाचुङ नगरपालिकाकी ज्ञानुमाया विश्वकर्मा र जन्तेढुङ्गा गाउँपालिकाकी देवी विश्वकर्माको हत्यारामा संलग्नलाई प्रहरीले पत्ता लगाउन नसकेको हो ।

खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २०७३ माघ २६ गते १७ वर्षीया रीता तामाङको हत्यामा संलग्न अझै पत्तो लागेको छैन । 

सिम्पानी बजारस्थित शिव खडाको होटलमा काम गर्दै आएकी रीता घर नआएपछि खोजीका क्रममा कुशेऔसी जङ्गलको बाटोभन्दा करिब ४० मिटर तल भिरमा मिल्काइएको अवस्थामा मृत फेला परेकी थिइन् । तामाङको हत्यारा पत्ता लगाउन नसकेपछि उनका परिवार विक्षिप्त बनेका छन् ।

घटनास्थल मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीको आशंका गरेको थियो । 

खोटाङस्थित प्रहरीले अनुसन्धान गर्न नसकेपछि रिजनल इन्भेस्टिगेसन टिम आरआईटीलाई आयोगले अनुरोध गरेको थियो । स्थानीयले भने प्रहरी प्रशासन दोषी पत्ता लगाउँन उदासीन बनेको गुनासो गरेका छन् ।

जिल्लास्थित राजनीतिक दल तथा अधिकारकर्मी समेत यो घटनाप्रति संवेदनशील नबनेको उनीहरूको गुनासो छ । यो घटनाका दोषी पत्ता नलागेपछि स्थानीय झन त्रासित बनेका छन् । दोषी निर्धक्कसाथ हिँडिरहेको तर प्रहरी प्रशासन भने अनुसन्धानमा उदासीन बनेको रीताका बुवा वीरबहादुरले गुनासो गरेका छन् ।

त्यस्तै २०७४ साउन ४ मा मृत फेला परेकी जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषीको अझै पत्तो लाग्न सकेको छैन । जन्तेढुङ्गा गाउँपालिका ४ शिवालयस्थित माइतीबाट घर फर्कने क्रममा सम्पर्कविहीन भएको दोस्रो दिन विश्वकर्मा मृत फेला परेकी थिइन् । विश्वकर्माको शव सडकभन्दा करिब पाँच सय मिटर तल फेला परेको थियो ।

कम्बरमुनिको कपडा खोलिएको र नाकबाट रगत बगेको अवस्थामा विश्वकर्माको शव फेला परेको थियो । हलेसी तुवाचुङ नगरपालिकाकी ज्ञानुमाया विश्वकर्मा हत्यामा संलग्न पनि अझै पत्तो लागेको छैन । २०७४ जेठ १६ गते स्थानीय गुँरासेडाँडामुनि मृत फेला परेकी थिइन् ।

यसबारेमा खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार केसीले भने अनुसन्धान भइरहेको बताउँदै आएका छन् । हत्यारा पत्ता लगाउन सम्बन्धित निकाय संवेदनशील नभएको पूर्व सभासद तथा नेकपा केन्द्रीय सदस्य दुर्गाजयन्ती राईको गुनासो छ ।


Sunday, May 5, 2019

प्रदेश एकको नाममा किरात र सगरमाथा मध्ये एकको सम्भावना

२३ वैशाख (खोटाङ)– प्रदेश नम्बर एकको नामकरण के गर्ने र केन्द्र कहाँ राख्ने भन्ने विषय चरम उत्कर्षमा पुगेको छ । नाम र केन्द्रको विषयले फेरि एक पटक प्रदेश एक तातेको छ भने आफू अनुकुल केन्द्र र नामकरण गर्न नेताहरु तातिएका छन् ।

तत्कालिन माओवादी पक्षधरले प्रदेश एकको नाम किरात राख्न माग गरिरहेका छन् । तर, प्रदेश नाम सगरमाथा वा कोसी राख्न उत्ति नै ठूलो आवाज उठिरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता रामकुमार राई पासाङले सार्वजनिक रुपमा नै किरात नाम नछाड्ने घोषणा गरेका छन् । तर, नेकपाभित्रै किरात नाम राख्दा सर्वसम्मत् नहुने भन्दै विकल्पमा सगरमाथा राखे उचित हुने तर्क दरिलो छ । 

प्रदेश एकमा लिम्बु समुदायको पनि बाक्लो सहभागिता छ । उनीहरुले पनि लिम्बुवान राख्न लबिङ गरिरहेका छन् । क्षेत्री ब्राम्हण र तत्कालिन एमाले र कांग्रेसका नेताहरुले भने भुगोलको आधारमा नामकरण गरिनुपर्ने र सगरमाथा वा कोसी नामकरण गरिनुपर्ने लबिङ गरिरहेका छन् ।

यसअघि, दुई वटा प्रदेशले भुगोलको आधारमा आफ्नो प्रदेशको नामकरण गरेका थिए । प्रदेश ६ को नाम कर्णाली र प्रदेश चारको नाम गण्डकी राखिएको थियो । प्रदेश एक, प्रदेश २, प्रदेश ३, प्रदेश ५ र प्रदेश ७ ले नामकरण गर्न सकेका छैनन् ।

यता, प्रदेश एकको प्रदेश केन्द्र र नामको टुंगो लगाउन दुई पटक बसेको सत्तारुढ दल नेकपाको बैठकले नाममा सहमति जुटाउन सकेन । बैठकले प्रदेशको केन्द्र विराटनगर राख्ने निर्णय गरेपनि विवादित देखिएको छ । 

सुगमलाई नै रोजेको, केन्द्र सबै जिल्लाको पायक पर्ने र बिच भागमा नभएको, भारतीय सिमा नजिक भएको, औद्योगिक क्षेत्र भएको र प्रदेश केन्द्रका लागि आवश्यक बस्तीहरु विस्तार गर्ने ठाउँ पनि नभएको भन्दै विराटनगर केन्द्र उचित नहुने आवाज उठिरहेको छ । 

यसअघि धरान र धनकुटा केन्द्र हुनुपर्ने माग गर्दै आन्दोलनसमेत भएको थियो । इटहरीलाई केन्द्र बनाउन सकिने सुझाव पनि रहँदै आएको थियो । यसका बाजजुत सत्ताधारी दल नेकपाले केन्द्र विराटनगर नै रोजेको हो ।

स्थायी राजधानीका लागि ४ वटा प्रस्ताव
प्रदेश सभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण दुवैको प्रस्ताव आहृान गरेकोमा स्थायी राजधानीका लागि ४ वटा प्रस्ताव दर्ता भएका छन् । प्रदेशसभा सचिवालयमा आइतबार स्थायी राजधानीका लागि विराटनगरको पक्षमा २ वटा र धनकुटाको पक्षमा २ वटा प्रस्ताव दर्ता भएका छन् ।

स्थायी राजधानी विराटनगर र कार्यपालिका, व्यवस्थापिका लगायतका संरचनाहरू बृहत् विराट विकास क्षेत्र अन्तर्गतका विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहने गरी सत्तारुढ दल नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी प्रस्तावक र सांसदहरू लिलम बस्नेत, राजकुमार ओझा, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी र यशोधा अधिकारी समर्थक रहेको प्रस्ताव दर्ता भएको छ।

यसैगरी सत्तारुढ दल नेकपाकै धनकुटाका सांसद निरन राई प्रस्तावक रहेको र इन्द्रमणि पराजुली र कुसुम श्रेष्ठ समर्थक रहेको अर्को प्रस्ताव समेत दर्ता भएको छ। तीनै जना धनकुटाका सत्तारुढ दलका सांसदले धनकुटालाई नै स्थायी राजधानी घोषणा गर्न माग गर्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।

विराटनगरलाई प्रदेशको स्थायी राजधानी घोषणा गर्न माग गदै प्रमुख प्रतिपक्षी दल काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्की प्रस्तावक र कांग्रेसकै सांसद शिवनारायण गनगाई र सङ्घीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव समर्थक रहेका प्रस्ताव दर्ता भएको छ।

कांग्रेसकै धनकुटाकी सांसद लीला सुब्बा प्रस्तावक र काँग्रेस ताप्लेजुङका सांसद प्रतापप्रकाश हाङगाम र सङ्घीय समाजवादी फोरम नेपालका सांसद रामचन्द्र लिम्बुको समर्थनमा धनकुटा नै राजधानी हुनु पर्ने माग सहितको प्रस्ताव दर्ता भएको छ ।


गुम्बा निर्माणको कामले गती लिदैं,पर्यटकीय केन्द्रविन्दु बन्ने

२३ वैशाख (खोटाङ)– धार्मिक तथा पर्यटकीय हिसाबले खोटाङको नुनथलामा निर्माण भईरहेको गुम्बा निर्माणको कामले गती लिन थालेको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला साविक ९, भन्ज्याङ संसारीडाँडामा बौद्ध धर्मावलम्बीका लागि निर्मित ‘ला ज्यालो वाङ थोप गुम्बा’ निर्माणको कामले गती लिएको छ । २१ करोड बजेटमा त्यहाँ विशाल गुम्बा निर्माण हुनेछ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ सालको १५ लाख बजेट र उपभोक्ता समितिको दुई लाख बराबरको जनश्रमदानले २०७५ जेठ १६ गतेबाट गुम्बाको जग खन्ने, ढुङगा सोलिङ गर्ने र पिसीसी ढलानको काम सकिएपछि हालै प्रदेश सरकारको करीव १ करोड बजेट र उपभोक्ता समितिको १० लाख श्रमदानबाट बाँकी काम सुरु गर्न लागिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । 

गत बैशाख ५ गते प्रदेश सरकार र उपभोक्ता समितिबिच करीव १ करोड रुपैयाँको सम्झौतापछि गुम्बाको बाँकी काम गर्ने वाटो खुलेको हो । काम दु्रत गतीमा अगाडी बढाउन आवश्यक साम्रगी निर्माण स्थलमा झारिएको र आउने क्रम जारी छ । 

निर्माण सम्पन्न भएपछि धार्मिक रुपमा मात्रै नभइ पर्यटकीय स्थलका रुपमा समेत स्थापित हुने गुम्बा निर्माणका लागि प्रदेश सरकारसँग सम्झौता भइसकेकोे छ । 

काम गरेको प्रतिवेदन बुझाएपछि मात्रै पेश्की दिने भएकाले हाललाई गुम्बा व्यवस्थापन समिति अध्यक्ष मेनुका राई तामाङसँग सहकार्य गरी तत्काल बजेट व्यवस्थापन गरेर सिमेण्ट, वालुवा, गिट्टी, रड, ट्याङकी, सावेल, ठेला गाडी, फर्मा लगायतका टेक्निकल सामग्रीहरुको बन्दोबस्त गरिसकिएको ला ज्यालो वाङ थोप गुम्बा निर्माण उपभोक्ता समिति अध्यक्ष महेश तामाङले बताए । 

लुम्विनीबाट दक्ष जनशक्ति आगामी मंगलबार नुनथला आइपुग्ने र दु्रत गतीमा काम अगाडी बढ्नेछ । काम अगाडी बढेसँगै ८÷१० दिनपछि पेश्की रकम हात पर्ने अध्यक्ष तामाङले सुनाए । 

अब आरसीसी ढलान गरी हात्ती पाइले (पिन्थ लेभल) को काम थालिनेछ । चालू आर्थिक वर्षभीत्रमा पिन्थ लेभल सकेर झ्यालसम्मको काम सकिने जनाइएको छ । २१ करोड लागत स्टीमेटको पञ्च वर्षीय योजना भए पनि बजेट अभावमा झेलिदै चन्दा संकलन, दातृ निकाय, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको आर्थिक सहयोगमा सात वर्षभीत्रमा गुम्बा निर्माण भइसक्ने अनुमान गरिएको छ । 


निर्माण चरणमै कामले दु्रत गति लिनुपर्नेमा काम ढिला भएको थियो । गुम्बा निर्माण थालेको वर्षदिन भन्दा बढी समय गुज्रिए पनि बजेट अभावकै कारण एक वर्षमा करीव एक प्रतिशत मात्रै काम भएको उपभोक्ता समितिले दावी गरेका छन् । प्राविधिक नपाइनु र बजेट अभावकै कारण उल्लेख्य रुपमा काम नभएको हो । अब त्यस्तो नहुने उपभोक्ता समितिले जनाएको छ ।

बौद्ध धर्मावलम्बीहरुका लागि मुख्यतः जन्म, मृत्युको संस्कार गर्न, विवाह गर्न तथा बौद्ध शिक्षा दिनलाई निर्माण गरिएकोे गुम्बाभित्र एक सय वटा सिठोलजोको मुर्ती र अन्य आठवटा गरी १०८ वटा माटोका मुर्ती रहनेछ । दिक्तेल हलेसी सडक खण्डमा पर्ने गुम्बा ६० फिट अग्लो हुनेछ । 

गुम्बाको अन्तिम भागमा दृश्यावलोकनका लागि विशेष संरचना बनाइने छ । उक्त संरचनाबाट जिल्लाभीत्रका मनमाया राई खानीडाँडा विमानस्थल, लामिडाँडा विमानस्थल, टोड्के, मुढे, रुपाकोट, मझुवागढी, टेम्के, दिक्तेल, सगरमाथा, मकालु हिमाल र तराईका फाँटहरुको अवलोकन तथा छिमेकी जिल्लाहरुलाई नाङगो आँखाले हेर्न सकिनेछ ।

धार्मिक तथा पर्यटकीय हिसाबले गुम्बा केन्द्रविन्दु बन्दै गएपनि नगरपालिकाभीत्र पर्ने धार्मिक तथा पर्यटकीय स्थलहरु सहितको नगरपालिकाले भर्खरै निकालेको हाते ब्रुसरमा उक्त गुम्बा अटाइएको छैन । नगरपालिकाले हलेसीमा आउने पर्यटक तान्न नौ लाख बजेटमा हलेसीमा पर्यटन सूचना केन्द्रको स्थापना गर्दै नगरपालिकाभीत्र पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो सहितको हाते ब्रुसर छापेको थियो । 

ब्रुसरमा दिक्तेलबजार, बुधेशवर महादेव मन्दिर, रुपाकोट, मझुवा कालिका भगवती मन्दिर, मझुवागढी, भुलभुले दुधकुण्ड देउधाम, महुरेगढी आखाँ पोखरी, साप्सुढाप निर्मलीडाँडा, सीतादेवी मन्दिर बुईपा, निर्माणाधिन बगरे भञ्ज्याङ, पञ्चेदोबाटो, साकेलाथान सोल्मा, सहदेउगढी बुईपा विजयखर्क र रुवालुङ झरनाको मात्रै फोटो छ ।

सेन्तेरेम खाने शिक्षकलाई ठीक लगाउँछु –मेयर रिजाल

२२ वैशाख (खोटाङ) खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले शनिवार लफ्याङस्थित श्रीमावि बास्बोटेमा आयोजित एक कार्यक्रममा सेन्तेरेम खाएर पढाउन आउने शिक्षकलाई ठीक पार्ने चेतावनी दिए । 

शैक्षिक गुणस्तर अभिबृद्धिका गर्न विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षकहरुका लागि गरिएको पुर्नताजकी तालिम उद्घाटन कार्यक्रममा मादक पदार्थलाई ‘सेन्तेरेम’ र ‘सोलमारी’को नाम दिँदै रिजालले सो कुरा बताएका हुन् ।

हिजोआज जाँड–रक्सी लगायतका मादक पदार्थलाई चिनाउन ‘सेन्तेरेम’ वा ‘सोलमारी’ शव्दको प्रयोग हुने गरेको पाइन्छ ।जाँड–रक्सीले मातेको मान्छे देखिए वा भेटिए व्यांग्यात्मक शैलीमा ‘सेन्तेरेम’ लागेछ भन्ने गरेको सुनिन्छ । प्रयोगका हिसावले सेन्तेरेम शब्द मादक पदार्थकै समानार्थी शब्दका रुपमा स्वीकार्य जस्तै बनिसकेको छ ।



‘सेन्तेरेम र सोलमारीको लत छ भने आजैबाट छाडिदिनुस नत्र खाएर विद्यालयमा आउनुभयो भने हामी छाड्दैनौँ, कडाभन्दा कडा कारबाही गर्छौँ,’ नगरप्रमुख रिजालले भने, ‘तर, हामी कारबाही मात्र गर्दैनौँ, राम्रो काम गर्ने शिक्षकलाई पुरस्कृत पनि गर्छौँ ।’

तपाईहरुले आफ्नो बच्चा सम्झेर शिक्षण सिकाई क्रियाकलाप गरिदिनुभयो भने मात्र तपाई हामीले चाहेको गुणस्तरीय शिक्षा प्राप्त सकिने नगरप्रमुख रिजालको भनाई थियो ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई खोटाङका प्रमुख सेमन्त गौतम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ का वडा वडाध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक निर्मल राई लगायतले शिक्षाबारे बोलेका थिए ।

Saturday, May 4, 2019

नेपाललाई तीन करोड ६३ लाख बढी टुक्रामा खण्डीकरण

२२, वैशाख (काठमाडौ)–एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको नेपालको जमिनलाई जनसंख्याभन्दा बढी टुक्रा पारिएको छ । 

गत वर्षसम्म्मा तीन करोड ६३ लाख २१ हजार एक सय ९७ टुक्रामा नेपाललाई कित्ताकाट गरिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार उक्त कुरा पत्ता लागेको हो। जब कि देशको जनसंख्या तीन करोड ९० लाख मात्रै छ ।

गत आव मात्रै जमिन खण्डीकरण गरेर सात लाख २५ हजार नौ सय ५९ कित्ता थपिएका छन् । सरकारले दुई लाख २५ हजार नौ सय ४६ टुक्रा जमिनलाई भने खारेज गरेको छ ।

विभागको तथ्यांकअनुसार बुटवल रुपन्देहीको जमिन सबैभन्दा बढी खण्डीकरण गरिएको छ । गत आवसम्म बुटवलको जमिन ३३ लाख ४५ हजार तीन सय ६७ वटा कित्तामा विभाजन भइसकेको छ ।


Friday, May 3, 2019

खोटाङमा स्वास्थ्य विमा गर्नेको संख्या १७ हजार पुग्यो

२१ वैशाख (खोटाङ)  – २०७४ साल पुस २४ गतेदेखि स्वास्थ्य बिमा सुरु गरिएको खोटाङमा २०७६ वैशाख १३ गतेसम्म १७ हजार ४ सय ५१ जनाले बिमा गरेका छन् । 

स्वास्थ्य बीमा बोर्ड खोटाङका संयोजक सन्तोष दाहालका अनुसारउपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षाका लागि सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम बापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १० वटै स्थानीय तहमा स्वास्थ्य बिमा दर्ता कार्यक्रम अघि बढाइएको छ। 

जिल्लाको ऐंसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल खोटाङ, जिल्ला अस्पताल उदयपुर, जिल्ला अस्पताल ओखलढुंगा, जिल्ला अस्पताल सोलुखुम्बु, धरान, विराटनगर, काठमाडौं, भक्तपुरलगायत ठाउँमा रहेका सरकारी अस्पतालबाट बिमाको सर्तअनुसार स्वास्थ्य उपचार सेवा लिन पाउनेगरी स्वास्थ्य बिमा दर्ता भइरहेको छ। 

हरेक वडामा नियुक्त स्वास्थ्य बिमा दर्ता सहयोगीले नाम दर्ता र परिचयपत्र वितरणको काम गरिरहेका छन्। सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु, काठमाडौंअन्तर्गत कात्तिकदेखि पुससम्म नाम दर्ता भएका नागरिकको स्वास्थ्य बिमा फागुन १ बाट, माघदेखि चैतसम्म नाम दर्ता गरेका नागरिकको बिमा जेठ १ बाट, वैशाखदेखि असारसम्म नाम दताए गरेका नागरिकको भदौ १ बाट र साउनदेखि असोजसम्म नाम दर्ता गरेका नागरिकको बिमा मंसिर १ गतेबाट लागू हुने जनाइएको छ।

‘हालसम्म सत्र हजारभन्दा बढीले स्वास्थ्य बिमाका लागि नाम दर्ता गरेर परिचयपत्र लिइसकेका छन्,’ संयोजक दाहालले भने, ‘स्वास्थ्य बिमा लागू हुने महिनाको अघिल्लो महिना बिमा गराउनेको चाप बढी देखिएको छ।’

पाँच जनासम्मको परिवारले वार्षिक २५ सयको स्वास्थ्य बिमा गरेपछि बिरामी परेका समयमा वार्षिक ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा पाउने भएपछि स्थानीय यो कार्यक्रमप्रति हौसिएका छन्। 

पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले स्वास्थ्य बिमा गर्न थप प्रतिव्यक्ति ४५० रुपैयाँका दरले शुल्क बुझाउनुपर्छ भने उपचार खर्च पनि ५० हजारमा प्रतिव्यक्ति थप १० हजारका दरले बढी सेवा पाउने बिमा बोर्डले जनाएको छ।

गाउँको हालखबर (कविता)

के बताऊँ तिमीलाई ....।
स्वर्गकी परी तिम्रो गाउँको हालखबर
तिमी शहर पसेकाहरुलाई
मिठो खाने राम्रो लगाउने सपना बोकी
अस्तव्यस्त तिमी शहर पस्दा

तिम्रो गाउँ उजाड मात्र थियो
चामलको भात र नुन खान
बेल्टार र कटारी धाउनु पथ्र्यो
धिपधिपे कुपीमा रात कटाउनु पथ्र्यो

त्यसैले तिमीलाई लाग्ला आज पनि
आफू जन्मिएको गाउँ उस्तै छ भनेर
सपनीमा पनि त्यस्तै देख्छौ होला

तर
आफ्नो मनलाई नढाँटी भन्दा आज
जन्मभूमी गाउँकै याद छ तिमीलाई
आज तिम्रो गाउँ समृद्ध बन्दैछ
जताततै विकासका लहर चल्दैछ

एक दिन लाग्ने बाटो एक घण्टामै पुग्ने भएको छ
धिपधिपे बत्तिको साटो झिलिमिली भएको छ
ति बाँझो बारीहरुमा अलैची र अम्लीसो हल्कीए

बारीका फोक्टाहरुमा फलका राजा किवि
अनि अकवरे खुर्सानी फलेको छ
त्यसैले त तिम्रो उजाड बिर्सिएका गाउँ

स्वर्गकी परी जस्तै बन्दैछ
त्यसैले त आज म लेख्दैछु
तिम्रो गाउँको हालखबर

राम्रो लगाउन मिठो खान
गाउँ छाडी शहर पसेकाहरुलाई
जन्मभूमी तिम्रो गाउँको हालखबर
हो
गाउँको हालखबर]

-अम्बिका राई (दिप्रुङ चुइचुम्मा–६, खिरौंले खोटाङ)


अध्यक्ष विरुद्ध आन्दोलनमा उत्रिए दिप्रुङचुइचुम्माबासी

२० वैशाख (खोटाङ)–स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपश्चात बारम्बार विवादमा आईरहेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई विरुद्ध यतिबेला दिप्रुङबासी आन्दोलित बनेका छन् । 

आफ्नै निकटका कार्यकर्तादेखि पुरै गाउँपालिकाबासीलाई रुष्ट बनाएका अध्यक्षले पछिल्लो समय फेरी सोही हर्कत दोहो¥याएका छन् । यतिबेला अध्यक्ष विरुद्ध गाउँपालिकाभरीका शिक्षक, अभिभावक र विद्यार्थी आन्दोलन गरिरहेका छन् । 

गत वैशाख ११ गते बसेको कार्यपालिकाको बैठकले शिक्षक दरवन्दी मिलान गर्ने क्रममा आफूखुशी शिक्षकहरुलाई सरुवा गरेको तथा शिक्षक र विद्यार्थी अनुपात हिसाब नगरी सरुवा तथा दरवन्दी मिलान गरेपछि अध्यक्ष विरुद्ध बिहीबारदेखि नारावाजी र आन्दोलनका कार्यक्रम भईरहेका छन् । 

अध्यक्ष विरुद्ध डाँडागाउँबाट सुरु भएको आन्दोलनले यतिबेला व्यापक रुप लिएको छ । आन्दोलनलाई टेम्मा, याम्खा, छोरम्बु, बतासे र छितापोखरीका विद्यालयले पनि ऐक्यवद्धता जनाएका छन् । आन्दोलनको पहिलो दिन अध्यक्ष विरुद्ध नारावाजी हुनुका साथै दरवन्दी मिलान र सरुवा खारेज गर्नुपर्ने माग सहित गाउँपालिकाका उपप्रमुख सपना राई समक्ष ज्ञापन पत्र बुझाईएको संघर्ष समितिका सचिव दिपक पौडेलले बताए । 

आन्दोलनकै क्रममा आज शुक्रबार विज्ञप्ती प्रकाशित गरिने र आगामी २६ गतेसम्म गाउँपालिकाको निर्णय फिर्ता गर्न अल्टिमेटम दिईने उनले बताए । उक्त अल्टीमेटमभित्र माग पुरा नभए वैशाख २७ गतेदेखि अनिश्चितकालिन पालिकाभरीमा शैक्षिक हड्ताल गर्ने चेतावनी दिईएको छ । 

कार्यपालिकाको बैठकले पालिकाभरीका करीव २० जना शिक्षकहरुलाई दरवन्दी मिलानको नाम लिएर ऐन नियम विरुद्ध सरुवा गरेको आन्दोलनकर्ताहरुले बताएका छन् । शिक्षक दरवन्दी खाली भएका विद्यालयहरुमा विद्यार्थी संख्या हेरी अनुदान कोटा सृजना गर्नुपर्नेमा अध्यक्ष राईले आफूखुशी दरवन्दी मिलानको नाममा शिक्षकहरुकै सरुवा गरेको बताईएको छ । आन्दोलनकारीहरुले गाउँपालिकाको शिक्षा ऐन समेत खारेजको माग गरेको छ ।



Thursday, May 2, 2019

नीति तथा कार्यक्रममा यस्ता छन् यो बर्षका महत्वकांक्षी कार्यक्रम

२० वैशाख (काठमाडौ)–आज शुक्रबार सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे सरकारको तर्फबाट उक्त कार्यक्रम प्रस्तुत गर्नु हुने भएको हो ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका नै सांसदहरु उपस्थित रहने भएको छ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले बैठक सञ्चालन गर्नुहुने भएको छ । नीति तथा कार्यक्रमका आधारमा नै सरकारले आर्थिक वर्ष २०७६(०७७ को बजेट प्रस्तुत गर्ने छ । 

संविधानले नै जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने वाध्यकारी व्यवस्था गरेपछि केही वर्षदेखि यही दिन वजेट प्रस्तुत हुँदै आएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा ले आफ्नो सरकार बनेपछि जनताको पक्षमा काम गर्छौ भन्दै आएपनि त्यो अनुसार काम नभएपछि जनतामात्र होइन सर्वसाधारणले पनि सरकारको आलोचना गर्दै आएका छन् ।

तर सरकारले आउँदो वजेटमा भने जनताको मन छुने योजनाहरु समेटिएको दावी गरेको छ ।विगतमा सरकारको नीति तथा कार्यक्रम आउनुअघि प्रि–वजेट छलफल गरिने परम्परा रहँदै आएकोमा यसपालि भने त्यो नहुने भएको छ । तर सरकारले भने प्रि–वजेट छलफल नीति तथा कार्यक्रम पछि पनि हुने दावी गर्दै आएको छ ।

नेकपाभित्र स्थानीय तहको टुंगो जिल्लाले नै लगाउने

२० वैशाख (काठमाडौ)- नेपाल कम्युनिष्ट पार्टीभित्र एघार महिनापछि जिल्ला कमिटीको अध्यक्ष र सचिव चयन गरेपनि अन्य सांगठानिक एकता प्रक्रियाले गति लिन सकेको छैन् । 

वैशाख ९ गते ७७ वटा जिल्लाका अध्यक्ष र सचिवको घोषणा गरेको नेकपाले सांगठानिक एकताको बाँकी काम अगाडि बढाउन नसकेको हो । 

पार्टीको सचिवालय बैठक दुई पटक बसेपनि सांगठानिक एकताको गाँठो फुकाउन सकेको छैन् । नेकपाभित्र जिल्ला कमिटीमा रहने सदस्यहरु छनोट, जनवर्गीय संगठनको नेतृत्व, पोलिटब्यूरो गठन, केन्द्रीय विभागहरुको गठनको काम अगाडि बढन सकेको छैन् ।

सचिवालयले जिल्ला कमिटीको पूर्णता दिनको लागि प्रदेश कमिटीको नेतृत्वलाई सर्कुलर जारी गरिएको छ । यस अघि जिल्ला कमिटीमा रहने सदस्यहरुको नामावली तयार भएपनि केही जिल्लामा भने विवाद रहेको थियो । 

यता जिल्ला कमिटि टुङ्गो लागेपछि स्थानीय तहको कमिटि गठनको जिम्मा जिल्ला कमिटिले पाउने भएको छ । जिल्ला कमिटिले अनुमोदन गरेपछि स्थानीय तहका कमिटिले मान्यता पाउने छन् ।


बलत्कार गरेको अभियोगमा युवक पक्राउ

२० वैशाख (खोटाङ)– किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका २१ वर्षीय जीवनबहादुर जोगी पक्राउ परेका छन् । 

१७ वर्षकी  किशोरीलाई जवरजस्ती करणी गरेको उजुरीका आधारमा जोगीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कट्वालले बताउनुभयो । 

जोगीमाथि बुधबार राती किशोरीमाथि जवरजस्ती गरेको आरोप छ । पक्राउ परेका अभियुक्तलाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 



बर्डफ्लु मानिसमा सर्यो, के हो बर्डफ्लु, कसरी सर्छ मानिसमा (सचेतनाको लागि सबैले शेयर गरौं)

१९ वैशाख (काठमाडौ)–बर्डफ्लूका कारण काभ्रेमा एक २१ वर्षीय युवकको ज्यान गएको छ। गएको जाडो मौसममा देशका विभिन्न भागमा किसानले पालेका कुखुराहरु बर्डफ्लूका कारण अत्याधिक बिरामी भई उपचार गर्दागर्दै मर्न थालेका सूचनाहरु बाहिर आइरहेको बेला युवकको पनि सोही बर्डफ्लूको सक्रमणले ज्यान गएपछि चिकित्सकहरूले सावधनी अपनाउन सुझाएका छन्। 

यसको लक्षण रुघाखोकीसँग मिल्दोजल्दो हुन्छ। इन्फ्लुएन्जा–ए विषाणुलाई प्रोटिनका आधारमा दुई भागमा वर्गीकृत गरिन्छ। नेपालमा मानिसमा बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना हो।

ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण देखिएपछि उपचारका लागि अस्पताल पुगेका थिए। पछि स्वास्थ्य जाँच पश्चात परीक्षणको लागि उनको र्‍याल लिइएको थियो। त्यसपछि उक्त र्‍याल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। 


उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, स्वासप्रस्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो। उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्‍यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन।

त्यसपछि उक्त नमुना परीक्षणका लागि जापान पठाइएको थियो। उक्त नमुनाको नतिजा बैशाख १७ गते मंगलबार नेपाल आएको थियो। नमुनामा बर्ड फ्लु भएको उल्लेख थियो। त्यसपछि आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। 

ती मृतकको नाम भने खुलाइएको छैन। केही दिनयता हेटौ‌ंडा, काठमाडौं, कास्की लगायतका सहरमा बर्ड फ्लु पुष्टि भई करिब सवा लाख कुखुरासमेत नष्ट गरिएको छ।

१७ वर्षीय युवतीद्धारा विष खाएर आत्महत्या

खोटाङ, १९ वैशाख– खोटाङमा एक १७ वर्षीय युवतीले विष सेवन गरेर आत्महत्या गरेकी छिन् । साकेला गाउँपालिका–५ मात्तिम डाँडाटोलकी १७ वर्षीया कविता राईले आत्महत्या गरेकी हुन् ।

युवतीले बुधबार साँझ सवा आठ वजे विष सेवन गरेको र स्थानीयले प्रहरीलाई बिहीबार विहान खबर गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कुमार कट्वालले जानकारी दिए । 

मृतक राईको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ । आत्महत्या गर्नुको कारण खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


नेपालीकै पैसाले देशकै ठूलो दूधकोशी हाइड्रोपावर खोटाङमा बन्दै

खोटाङ, १९ वैशाख–देशको राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको दुधकोशी जलविद्युत परियोजना अब नेपाली लगानीमा नै बन्ने भएको छ । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब ७ सय मेगावाटको देशकै ठूलो क्षमताको दूधकोशी हाइड्रोपावर नेपाली लगानीमा नै बन्ने घोषणा गरेका हुन् । त्योपनि तामाकोशीकै मोडेलमा नेपालीकै पैसाबाट फाष्ट रोड मोडलमा बनाइने छ ।

खोटाङका स्थानीय जनता र सबै नेपाली जनताको शेयर लगानीमा अघि बढाइने यो आयोजना निकै आकर्षक हुने घिसिङको दाबी छ । 

एशियाली विकास बैंकले यसको विस्तृत परियोजना बनाइरहेको र विद्युत प्राधिकरणले तामाकोशीमा जस्तै कम्पनीको ड्राफ्टसमेत तयार पारिसकेको घिसिङले जानकारी दिए । 

केही समयअघि मात्र दोलखाको लामाबगरस्थित तामाकोशी जलविद्युत परियोजनाको अवलोकन गरेर खोटाङको दिक्तेल पुगेका कार्यकारी निर्देशक घिसिङले दूधकोशी परियोजनाबारे खोटाङे जनतालाई यसरी सुनाए–

दूधकोशी हाइड्रोपावर प्रोजेक्ट अहिले हामीले, विद्युत प्राधिकरणले नै हेरिरहेका छौं । यसलाई ‘फास्ट ट्रयाक’मा लैजाने भनेर सरकारकै कार्यक्रममार्फत ‘जनताको जलविद्युत’ का रुपमा अगाडि बढाउन हामीले कम्पनी स्थापनाको प्रक्रिया अघि बढाएका छौं ।

यसलाई तामाकोशीकै मोडेलमा अगाडि बढाउने भनेर कम्पनी दर्ता गराउन खोजिरहेका छौं । विद्युत प्राधिकरणको बोर्डले मन्त्रालयको निर्देशनमा कम्पनी खोल्ने भनेर निर्णय पनि गरिसकेको छ । कम्पनीको ड्राफ्ट तयार भइसकेको छ । अब चाँडै नै कम्पनी दर्ता हुन्छ ।

करीब ६ सयदेखि ७ सय मेगावाटमा यसको डिजाइन हुन्छ । यसका लागि कन्सल्टेन्टको नियुक्ति भइसकेको छ । एडीबीको फन्डिङ प्रोजेक्ट भएकाले फण्डको पनि त्यति समस्या छैन । एडीबीले अहिले विस्तृत डिजाइन गरिरहेको छ । यसको काम अब एकदमै ‘फास्ट ट्रयाक’ मा जान्छ ।

खोटाङका जनता एवं नेपाली जनता सबैको सेयर लगानीमा दूधकोशी हाइड्रोपावर प्रोजेक्ट अगाडि बढाउने योजना बनाएर हामी अगाडि बढेका छौं । यो रिजर्भवायर प्रोजेक्ट नेपालका लागि एकदमै जरुरी छ । रिजर्भवायर प्रोजेक्टमा पनि एकदमै राम्रो प्रोजेक्ट हो ।

यो परियोजना पुनस्थापनाको हिसाबले, बस्ती डुवानको हिसाबले एकदमै राम्रो प्रोजेक्ट भन्ने देखिएको छ । मैले त हेरेको छैन, तर एकदमै कम वस्ती डुवान हुन्छ रे । हाम्रो रिपोर्टमा त्यो उल्लेख छ ।



कमला डाइभर्सनले समस्या
दूधकोशीको यो प्रोजेक्टमा अलिकति समस्या के छ भने यहाँबाट निस्किएको पानी कमला डाइभर्सनभन्दा माथि नै झार्नुपर्छ भन्ने कमला डाइभर्सनको शर्त छ । 

त्यसैले यो प्रोजेक्टलाई अलिकति हामी प्लान नै गर्दैछौं । कमला डाइभर्सनभन्दा तल पानी झार्यो भने यो प्रोजेक्ट एकदमै प्रभावकारी हुन्छ । र, एकदमै फेन्टास्टिक प्रोजेक्ट बन्छ यो ।

कमला डाइभर्सनभन्दा माथि पानी फाल्यो भने टनेलको लेन्थ पनि एकदमै लामो हुने भएकाले यसलाई अलिकति समस्या पर्न सक्छ । तर, हामी उपयुक्त डिजाइन गरेर यसलाई अघि बढाउँछौं । 

यो आयोजना अब चाँडै नै अघि बढ्छ । यो उनको प्रतिवद्धताले खोटाङका जनतामा खुशीको बहार त आएको छ नै देशभरीका जनताको भविष्य बनाउने योजनाले सबै नेपालीलाई खुशी थपेको छ ।

Wednesday, May 1, 2019

प्रदेशको नाम किरात राख्न यायोक्खाको दवाव

१९ वैशाख (खोटाङ)– किरात राई यायोक्खा केन्द्रीय समितिले १ नम्बर प्रदेशको नाम किरात राख्न आग्रह गरेको छ । यस अघिदेखि नै १ नम्बर प्रदेशको नाम किरात हुनुपर्ने पक्षमा दवावमुलक गतिविधि गर्दै आएको यायोक्खाले बुधबार काठ्माण्डौंमा पत्रकार सम्मेलन गरेर प्रदेशको नाम किरात राखिनुपर्ने माग दोहोराएको हो । 

प्रदेशको नाम र स्थायी राजधानी बारे बिहिबार प्रस्ताव दर्ता हुने तयारी भइरहेका समयमा यायोक्खाले प्रदेशको नाम किरात नराखे आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेशसभामा किरात प्रदेश नाम प्रस्ताव दर्ता हुने बताउँदै यायोक्खाका अध्यक्ष दिवस राईले प्रस्तावमा समर्थन गर्नका लागि प्रदेशका सांसदहरुलाई आग्रह गरेका छन् । 

यायोक्खाकातर्फबाट प्रदेशका सांसदलाई दैनिक एसएमएस अभियान चलाइएको यायोक्खाका सचिव अर्जुन जम्नेली राईले बताए । किरात शब्दले बहुपहिचान झल्किने दावी गर्दै यायोक्खाले प्रदेशको नाम राख्नेक्रममा इतिहास र सभ्यताको सम्मान गर्न आग्रह गरेको छ । 

‘किरात कुनै एउटा जाति होइन,’ यायोक्खाको विज्ञाप्तिमा भनिएको छ, ‘किरात इतिहास, भूगोल, सभ्यता, कला, संस्कृति वा जीवन पद्धति हो ।’ प्रदेशको नाम किरात नराखिए शान्ति सिर्जना हुने र नदी वा हिमालको मात्र नाम राखिए विद्रोही शक्तिलाई वल पुग्ने यायोक्खाको विज्ञप्तिमा भनिएको छ । 

प्रदेशको नाम किरात नराखिए त्यसबाट निम्तिने गम्भीर परिस्थितिको जिम्मा प्रदेश सरकार, सांसद र दलका नेताले लिनुपर्ने चेतावनी दिइएको छ । किरात प्रदेश नामकरणको लागि २५ लाख हस्ताक्षर संकलन गरेर प्रदेश सरकारलाई बुझाइसकेको यायोक्खाले दलका शिर्ष नेतृत्वदेखि प्रधानमन्त्री केपी ओलीसम्मलाई सहजीकरणका लागि आग्रह गरिसकेको छ । 

छितापोखरीको १ सय १० घरमा विद्युत विस्तार

१८ वैशाख (खोटाङ)–दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा बसोबास गर्ने ११० घर स्थानीयबासीकामा केन्द्रीय प्रशारण लाईनको विद्युत विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरण र गाउँपालिकाले गत वर्ष छुट्याएको रु २० लाख बजेटबाट विद्युत विस्तार गरिएको हो ।  

यसअघि, सोलार तथा टुकीको भरमा बस्दै आएका स्थानीयबासीको घरमा  चौबीसै घण्टा केन्द्रीय प्रशारण लाईनको विजुली बत्ती बलेपछिस्थानीयवासी हर्षित भएका छन् । विद्युत विस्तार भएपछि कम्प्युटर, इमेल, ईन्टरनेट चलाउन, टेलिभिजन हेर्न, मोबाईल चार्ज गर्न, कुटानी÷पिसानी गर्न लगायत विद्युतीय काममा सहज भएको स्थानीय विद्युत उपभोक्ताले बताएका छन् ।

सात वटा वडा रहेको उक्त गाउँपालिकाको बतासे, याम्खा र छितापोखरीका केही भूभागमा विद्युत विस्तार हुन बाँकी रहेको छ । बाँकी रहेका स्थानहरुमा आगामी वर्षसम्म विस्तार गरिसक्ने गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । 

छितापोखरीमा दिक्तेल–गाईघाट ३३ केभी केन्द्रीय प्रशारण लाईन अन्तरगतको विद्युत विस्तार गरिएको हो । जिल्लाको सदरमुकाम दिक्तेलमा १६ वर्षअघि केन्द्रीय प्रशारण लाईनको विद्युत विस्तार भएपनि अहिलेसम्म गाउँगाउँ पुयाउन सकिएको छैन । 


वास्तविक भूकम्पपीडित अनुदानबाट वञ्चित, जनप्रतिनिधिले गरे प्राधिकरणको आलोचना

१८ वैशाख (खोटाङ)– भूकम्पलगत्तै घर बनाएर सोही घरमा बसिरहेका खोटाङका वास्तविक भूकम्पपीडितले राज्यबाट पाप्त गर्ने अनुदान अहिलेसम्म पनि पाएका छैनन् । २०७२ साल वैशाख १२ गतेको भूकम्पले घर भत्किएपछि बस्ने ठाउँ नभएर बिचल्लीमा परेका भूकम्पपीडितले ऋण काढेर घर बनाएको चार वर्ष बितिसक्दा पनि राज्यले उपलब्ध गराउने अनुदान बापतको रकम नपाएका हुन् । 

निर्देशक समितिको गत २०७५ साल भदौ २१ गते बसेको बैठकले घर निर्माण गरिसकेका वास्तविक भूकम्पपीडितले राज्यले दिने अनुदान बापतको रकम एकमुस्ट रु तीन लाख पाउने बताएपनि प्राधिकरणले उपलब्ध नगराएको लाभग्राहीको गुनासो छ । सम्बन्धित वडाबाट सबै प्रक्रिया पूरा गरेर प्राधिकरणलाई कागजपत्र बुझाएको लामो समय बितिसक्दा पनि आफूहरुले राज्यबाट पाउने अनुदान बापतको रकम नपाएको घर निर्माण गरेर सोही घरमा बस्दै आएका लाभग्राहीले गुनासो गरेका हुन् । 

कतिपय प्राविधिकले अनुदान मिलाइ दिने बहानामा लाभग्राहीसँग प्रतिशतको हिासबले रकम समेत माग्ने गरेको गुनासो आउने गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले सोमबार दिक्तेलमा आयोजना गरेको गुनासो तथा पुनरवलोकन कार्यविधिसम्बन्धी एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा वास्तविक भूकम्पपीडितले अनुदान नपाएको भन्दै जनप्रतिनिधिले प्राधिकरणको आलोचना गरेका छन् । 

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर विश्वकर्माले भूकम्पले घर भत्किएपछि ओत लाग्ने ठाउँ अभावमा तत्कालै घर बनाएर बसिरहेका भूकम्पपीडितलाई अनुदान दिने नाममा आशामात्र देखाइएको बताए । “जतिखेर भूकम्पले बस्ने ठाउँ बाँकी रहेन, ओत लाग्ने ठाउँ रहेन । 


त्यस्ता भूकम्पपीडितले ऋणपान गरेर आफैं घर बनाएका छन् । उनीहरु वास्तविक पीडित हुन् ”, उनले भने, “त्यस्ता भूकम्पपीडितलाई अनुदान दिन्छु भनेर कति वर्ष झुलाइरहने, राज्यले कति दिनसम्म आलटाल गरिरहने ? उनीहरुलाई तत्काल अनुदान उपलब्ध गराउनुप¥यो ।”

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण गठनअघि विपद्का समयमा आफ्नै तरिकाले घर बनाएका भूकम्पपीडितलाई अनुदान दिने घोषणापछि हाल दैनिकजसो फोनमार्फत सोधीखोजी भइरहेको जनप्रतिनिधिहरुले बताएका छन् । 
“भूकम्पलगत्तै कतिपय पीडित घर बनाएर बसिरहेका छन्, बनिसकेको घरको अनुदान कहिले आउँछ भनेर दैनिक फोन आइरहेको छ ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले भने, “भूकम्पपीडितले सोधेको समयमा उत्तर दिन समेत अप्ठ्यारो परिरहेको छ । यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष ललितकुमार राईले चिनजान र पहुँचका आधारमा पुर्ननिर्माण प्राधिकरणका इन्जिनियरले आवास अनुदान सिफारिसमा विभेद गरेको आरोप लगाए । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सहसचिव मुकुन्द निरौलाले भूकम्पपीडितका समस्या क्रमशः समाधान हुँदै जाने आश्वसन दिए ।

भूकम्पका कुल लाभग्राही आठ हजार ४४३ मध्ये हालसम्ममा आठ हजार ३३१ लाभग्राहीले मात्र अनुदानका लागि सम्झौता गरेको कार्यालयले जनाएको छ । २०७४ साल जेठ १९ गतेदेखि पहिलो किस्ता र २०७५ वैशाख ३० गतेदेखि दोस्रो किस्ता वितरण थालेको प्राधिकरणले असोजदेखि तेस्रो किस्ता वितरण थालेको हो । 

रु तीन लाख अनुदानमध्ये डिपिसिको काम सकिएपछि दोस्रो किस्ता बुझेर घरलाई छाना हाल्ने अवस्थामा पु¥याएका लाभग्राहीलाई रु ७५ हजार र शौचालय निर्माणपछि रु २५ हजारका दरले अन्तिम किस्ता दिने प्रावधान छ । 

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले बेलामा पर्याप्त इन्जिनियर पठाउन नसक्दा, पठाइएका इन्जिनियर काम छाडेर हिँड्दा, प्राविधिक मूल्याङ्कन ढिला हुँदा, जिल्ला आयोजना कार्यान्वयन एकाइ स्थापना नहुँदा आवास निर्माण तथा अनुदानको काम प्रभावित भएको हो । 

दिक्तेलबजारमा खानेपानीको हाहाकार, व्यवस्थापनमा चौतर्फी चुनौति

१८ वैशाख (खोटाङ)–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलबजारमा खानेपानीको हाहाकार भएको छ । नजिकमा पर्याप्त मुहान नहुनु, समय–समयमा मुहान सरसफाइमा ध्यान नदिनु र उचित व्यवस्थापन नहुनुले जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको दिक्तेलबजारमा खानेपानीको हाहाकार भएको हो ।

कहिले धारामा पानी नै नआउने, आइहाले पनि फोहर तथा दुषित पानी आउने,  बिग्रिएको ठाउँमा हप्तौँसम्म मर्मत नगरी दिने उपभोक्ताको गुनासो छ । भनेको समयमा र प्रयाप्त पानी नआएपछि कतिपय उपभोक्ता गाउँगाउँमा पुगेर धारा तथा कुवाबाट पानी ल्याएर उपभोग गर्न बाध्य छन् । 

उपभोक्तालाई खानेपानी सम्बन्धी ठूलो समस्या हुँदाहुँदै पनि व्यवस्थापन गर्ने जिम्मा लिएका उपभोक्ता समितिले उपभोक्ताबाट उल्टै चर्को शुल्क लिने गरेको पनि गुनासो आएको छ । धारामा पानी आवसकी नआवस भाडामा बस्नेले घरबेटीलाई मासिक शुल्क तिरिरहनुपर्ने बाध्यता रहेको भाडाका घरमा बस्ने उपभोक्ताले बताएका छन् । 

खानेपानी उपभोक्ता समितिका पदाधिकारीले आफ्ना नजिकका केही व्यक्तिकामा तीन÷चारवटासम्म धारा बाँडेको र उनीहरुकामा चौबीसै घण्टा पानी आउने गरेको पनि एक उपभोक्ताले आरोप लगाएका छन् । नाम नभन्ने शर्तमा उनले भने, “मैले दुई वर्ष दिनअघि एउटा धाराका लागि रितपूर्वक निवेदन दिएको थिएँ, अहिलेसम्म उपभोक्ता समितिले मलाई धारा दिएको छैन ।”

दिक्तेलबजारमा भएको खानेपानीको समस्या समाधान गर्न खानेपानी व्यवस्थापनको जिम्मा पाएको उपभोक्ता समितिको जिम्मेवारी निक्कै महत्वपूर्ण रहन्छ । तर, दिक्तेलको लागि १९ वर्ष अघि शुरु गरिएको खानेपानी योजना अहिले अलपत्र अवस्थामा छ ।

निक्कै महत्वकासाथ हेरिएको खानेपानी योजना ‘दिक्तेल बजार सुधार बिस्तार खानेपानी योजना’ हाल अलपत्र छ । उक्त योजना केही व्यक्तिको कमाइ खाने भाँडो मात्र बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका अध्यक्ष जीवनकुमार श्रेष्ठको आरोप छ । 

“वार्षिक रुपमा बजेट बिनियोजन हुन्थ्यो तर, अहिलेसम्म काम भएन ”, उनले भने, “बिनियोजित बजेट क–कस्को गोजीमा गएको छ ! अहिलेको स्थानीय तहका जनप्रतिनिधिले खोजीखोजी कारबाही गर्नुपर्छ । कसैलाई पनि छाड्नुहुन्न ।”

डेढ लाख लिटर पानी जम्मा हुने ट्याङकी दिक्तेलको थामखोरेडाँडामा निर्माण गरिएपनि शुचारु नभइ अलपत्र अवस्थामा छ । झाडीभित्र अलपत्र अवस्थामा छाडिएको थामखोरेडाँडाको ट्याङकीदेखि हाटडाडाँसम्म जिआई पाईप बिछ्याइए पनि हालसम्म प्रयोग गरिएको छैन ।

अलपत्र अवस्थामा छाडिएको योजनाका लागि हालसम्म रु. तीन करोड ७४ लाख बढी खर्च भइसकेको अनुमान गरिएको छ । “योजना निर्माणको जिम्मा पाएका केही व्यक्तिले कामै नगरी बिलभर्पाई गर्ने गरेका थिए ”, राप्रपाका अध्यक्ष श्रेष्ठले भने, “यसप्रति सम्बन्धित निकायले चासो दिनुपर्छ ।”

दिक्तेलबजारमा हिउँद÷वर्षा बाह्रै मास खानेपानीको समस्या हुने गरेको छ । १५ वटा वडा रहेको नगरको केन्द्र रहेको दिक्तेलबजारमा दुई वटा मुहानमार्फत ७३० वटा धारा वितरण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको सिरानमा रहेको रम्बाखोला र माझखोला मुहान यही वैशाख १२ गते आएको बाढीले पुरिदिँदा दुई दिनसम्म खानेपानी अवरुद्ध भएको थियो । 


दिक्तेलबजारमा विस्तार गरिएको खानेपानीको दुवै मुहान खुला ठाउँमा रहेकाले पटक–पटक समस्या आउने गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताएका छन् । “खुला ठाउँमा रहेका कारण दिक्तेलबजारमा विस्तार गरिएको खानेपानीमा ३० प्रतिशत कोलिफर्म (दिशामा पाइने किटानु) रहेको पाइएको छ ” उनले भने, “प्रशोधन गरेर मात्र उपभोग गर्न सबै उपभोक्तालाई अनुरोध गरेका छौँ ।”

दिक्तेलबजारमा देखिएको खानेपानीको समस्या समाधान गर्न नगरपालिकाको तर्फबाट पहल भइरहेको नगरप्रमुख दिपनारायण रिजालले बताए । “खानेपानी विस्तारका लागि भर्खरै मात्र ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम शुरु गरिएको छ ”, उनले भने, “आगामी डेढ वर्षभित्र दिक्तेलबजारमा देखिएको खानेपानी सम्बन्धी सबै समस्या समाधान हुन्छ ।”

दिक्तेलबजारमा देखिएको खानेपानी समस्या समाधान गर्न साना शहरी खानेपानी तथा सरसफाइ आयोजना शुरु गरिएको छ । दिक्तेलबजार र बाम्राङका स्थानीयवासीलाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी वितरण गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको खानेपानी आयोजनाको जिम्मा आशिष निर्माण कम्पनीले लिएको छ ।

रु २२ करोड ५५ लाख ५८ हजार लागतमा १८ महिनाभित्र सम्पन्न गर्ने गरी काम शुरु गरिएको आयोजनाको शिलान्यास गत चैत २४ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गरेका थिए । नेपाल सरकारको ७०, काठमाडौं महानगरपालिकाको नगर विकास कोषमार्फत २० र उपभोक्ताको पाँच प्रतिशत लगानीमा सम्पन्न हुने आयोजनामार्फत मुहान संरक्षण तथा नयाँ मुहान थप, ट्याङ्की निर्माण, घरघरमा विस्तार गरिएको धारामा मिटर जडान लगायतका काम गरिने जनाइएको छ ।