Monday, April 29, 2019

खोटाङका चार स्थानीय तहमा पहिलो चरणमा १५ शैय्याको अस्पताल बन्ने

१६ वैशाख (खोटाङ)- पाँच वर्षभित्र देशको सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले देशको ७ सय ५३ वटै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागेको हो ।

आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाई नागरिकको पहुँच स्थापित गर्न १५ शैय्याको अस्पताल निर्माण गर्ने आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा उल्लेख छ ।  

पहिलो चरणमा देशको २ सय ५१ स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरण अन्तर्गत खोटाङका चारवटा स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । 


यहाँको ऐसेलुखर्क गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा पहिलो चरण अन्तर्गत अस्पताल निर्माण हुने भएको हो । 

एउटा अस्पताल निर्माण एवं स्तरोन्नतिको लागि साढे ३ करोडदेखि ७ करोड रुपैयाँ सम्म बजेट लाग्छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । 

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहिलो चरणमा २ सय ५१ स्थानीय तहबाट निवेदन परेको छ । योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०७५/०७६ मा  सरकारले ७५ करोड बजेट विनियोजन गरेको छ ।

मूर्तीकार रोजनलाई खोटाङमा पहिलो पटक पुरस्कार

१६ वैशाख (खोटाङ–कुशल तथा प्रतिभावान मुर्तिकारका रुपमा देशबिदेशबाट मायाँ, सम्मान तथा दर्जनौं पुरस्कार पाएका खोटाङका कलाकार रोजन राई आफ्नै जिल्लामा भने पहिलो पटक पुरस्कृत हुने भएको छ । 

करिब दुुई दशकदेखि निरन्तरमुर्ति, प्रतिमा तथा हस्तकलामा समर्पित खोटाङ नेर्पाका मुर्तिकार राईलाई टेम्के तुवाचुङ प्रतिष्ठानले पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । प्रतिमा तथा मुर्ति निर्माणकालागि देशबिदेशबाट झिकाई प्रशंसा तथा सम्मान गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राईलाई‘टेम्के तुवाचुङ प्रतिभा पुरस्कार–२०७५’प्रदान गरिने आयोजकले जनाएको छ  ।

जिल्लाकै फरक प्रतिभाका धनी युवाले  मुर्तिकलाका माध्यमबाट आफु, आफ्नो जिल्ला र देशको परिचय दिएको भन्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष भोगेन राई(एक्ले)ले बताउनुभयो ।बैशाख २१ गते बृहत साहित्यिक, साङ्गीतिक तथा साँस्कृतिक कार्यक्रमकाबीच केपीलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा आयोजना हुने प्रतिष्ठानको पाँचौं बार्षिक उत्सवका अवसरमा पुरस्कार प्रदान गर्ने अध्यक्ष राईको भनाई छ । 



मुर्तिकार(कलाकार)राईलाई ११ हजार १ सय ११ रुपैंयाँको साथमा ताम्रापत्रले पुरस्कृत तथा कदर गर्ने बताईएको छ । हङकङमा रहेका साहित्य तथा संस्कृतिप्रेमी खोटाङेहरुको सक्रियतामा २०७० सालमा निर्माण गरिएको अक्षयकोषबाट बर्षेनी एक जना प्रतिभालाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ । 

देश तथा बिदेशका बिभिन्न स्थानमा आफुले सम्मान तथा पुरस्कार पाए पनि जिल्लामा पहिलो पटक पुरस्कृत हुन लाग्दा खुशी लागेको मुर्तिकार राईले प्रतिक्रिया दिनुभयो । जिल्लाका तुवाचुङ जायजुम, भुल्भुले जस्ता ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलमा मुर्ति तथा प्रतिमा बनाउनुभएका राईले भारतको सिक्कम लगायतका स्थानहरुमा प्रतिमा तथा मुर्तिहरु निर्माण गरी प्रशंसा बटुल्नुभएको छ । 

हाल सुनसरीको धरानमा बसोवास गर्दै आउनुभएका मुर्तिकार राईलाई हङकङ लगायतका देशहरुबाट समेत मुर्ति निर्माणका लागि झिकाईएको छ । फरक–फरक बिधाबाट जिल्लाको प्रतिष्ठा बढाउने या जिल्लाको हीतमा काम गर्ने उदाहरणीय ब्यक्ति पुरस्कारको भागीदार बन्दै आएका छन् । यसअघि साहित्यकार, कबि चन्द्र रानोहँछा, सितोरियो कराते खेलाडी सञ्जयकुमार राई र गायिका राधा राईले उक्त पुरस्कार ग्रहण गरिसकेका छन् । 

ब्याकुल माईलालाई सेवा सुविधाको माग

१६ वैशाख (खोटाङ)- प्रदेश नम्बर १ को संसदमा राष्ट्रिय गानका सर्जक व्याकुल माईलालाई उपयुक्त सेवा सुविधा दिइनुपर्ने आवाज उठेको छ । 

आईतबारको प्रदेश संसदको शुन्य समयमा खोटाङका सांसद राजन राईले १ नम्बर प्रदेशको ओखलढुंगामा जन्मिएका र राष्ट्रको अनमोल आभूषण भएकाले व्याकुल माईलालाई प्रदेश सरकारले सम्मानकासाथ सेवा सुविधा उपलव्ध गराइनुपर्ने माग राखेका हुन् । 

राष्ट्रगान रचना गरिसकेपछि राष्ट्रिय गानका सर्जककारुपमा मर्यादित जीवन विताउनेक्रममा व्याकुल माईलाको जीवन चरम आर्थिक संकटमा फसेकाले राज्यले सम्मानकासाथ हेर्नुपर्ने अवस्था देखिएको सांसद राईले बताए । 
‘संसद सुरु हुनुपुर्व राष्ट्रगानको ध्वनी गुञ्जन्छ, हामी गौरवले छाती चौंडा बनाउँछौँ, राष्ट्रिय भावनाले ओतप्रोत हुन्छौँ । तर छापाहरु हेरेँ, त्यो छापाको खबरहरुले मलाई छोयो,’ प्रदेशसभा सांसद राईले भने, ‘राष्ट्रगानका रचनाकार व्याकुल माईला चरम आर्थिक संकटबाट गुज्रिरहनु सुनको छौँ । 


उहाँका बच्चाहरु सहज तरिकाले स्कुल जाने सक्ने स्थिति छैन । यसो भएको हुनाले एउटा निश्चित मापदण्डभित्र रहेर न्यूनतम सेवा सुबिधा उपलव्ध गराउनका लागि प्रदेश सरकार समक्ष आग्रह गर्दछु ।’ 

कानून व्यवसाय गरेर जीवन चलाउँदै आएका व्याकुल माईला राष्ट्रगानको सर्जक बनेपछि आफ्नो मर्यादालाई ख्याल राख्नेक्रममा आर्थिक संकटबाट फस्न पुगेको प्रदेशसभा सांसद राईले बताए । ‘पहिला उहाँ एउटा कानून व्यवसायी हुनुहुन्थ्यो । उहाँको जीवन चलिरहेको थियो, तर राष्ट्रगान लेखिसकेपछि उहाँलाई एक किसिमको छेकवार लाग्यो । 

राष्ट्रगानको रचनाकारको जीवन मर्यादित हुनुपर्छ भन्ने मान्यताले उहाँले कानून व्यवसाय छाड्नु भयो । अहिले उहाँको जीवन चरण आर्थिक संकटबाट गुज्रिरहेको छ,’ राईले भने, ‘व्याकुल माईला १ नम्बर प्रदेशले जन्माइदिएको मुलुकको आभूषण हो । यसो भएको हुनाले उहाँको अवस्था हेरेर न्यूनतम सेवा सुबिधा उपलव्ध गराउन दायित्वकारुपमा लिन सरकार समक्ष आग्रह गर्दछु ।’ 

Sunday, April 28, 2019

चट्याङ लागेर महिलाको मृत्यु

१६ वैशाख (लामिडाँडा)- चट्याङ लागेर खोटाङमा एक महिलाको मृत्यु भएको छ । शनिबार साँझ वर्षासँगै परेको चट्याङले रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका ४५ वर्षीय कमला श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार खड्काले बताए । 

घरैमा बसिरहेको अवस्थामा परेको चट्याङका कारण गम्भीर घाईते भएका श्रेष्ठलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकी पु¥याउने वित्तिकै स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । 

चट्याङका कारण स्थानीय धनकुमारी श्रेष्ठ घाईते भएकी छन् । बेहोस अवस्थामा स्वास्थ्यचौकी लगिएकी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार भएपछि घर फर्किएको प्रहरी निरिक्षक खड्काले बताए । 



सामुदायिक विद्यालयमा पढ्न अनिवार्य इन्ट्रान्स

१६ वैशाख (खोटाङ) दमन राई (नागरिकबाट)-नयाँ शैक्षित्र–सत्रका लागि भर्ना अभियान चलिरहँदा कतिपय विद्यालयलाई विद्यार्थी पाउन धौ–धौ परिरहेको छ। तर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविले भने भर्ना हुन आएका विद्यार्थीको चाप थेग्न प्रवेश परीक्षा इन्ट्रान्सको सहारा लिनुपरेको छ। 

शिशु कक्षादेखि कक्षा १० सम्म भर्ना हुन आउने विद्यार्थीको चाप बढी भएपछि ‘इन्ट्रान्स’ लिएर नाम निकाल्ने विद्यार्थीको मात्र भर्ना गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक अध्यानबहादुर राईले बताए।

नयाँ शैक्षिक सत्रका लागि कक्षा ६ देखि कक्षा ९ सम्म भर्ना हुन आएका विद्यार्थी छान्न सरस्वती माविले दुई दिन लगाएर प्रवेश परीक्षा लिएको छ। भर्नाका लागि आएका एक सय ६० विद्यार्थीलाई सहभागी गराएर प्रवेश परीक्षा लिइएको हो। 

प्रधानअध्यापक राईका अनुसार अंग्रेजी धार ९बोर्डिङ स्कुल० बाट आएका ७८ विद्यार्थीमध्ये १३ जना अनुत्तीर्ण भएका छन्। यस्तै सामान्य विद्यालयबाट आएका ८२ विद्यार्थीमध्ये दुई विद्यार्थी नाम निकाल्न असफल भएका छन्। ‘

कक्षा ८ का लागि अब भर्ना गर्न सकिने अवस्था छैन, कोटा पूरा भइसकेको छ,’ प्रधानाध्यापक राईले भने, ‘अब अन्य कक्षाका लागि मात्र भर्ना गर्न सकिन्छ।’ विद्यार्थी आउने क्रम जारी रहेकाले पुनः प्रवेश परीक्षा लिनुपर्ने अवस्था रहेको उनले जानकारी दिए। 

नेपाली धारबाट कक्षा ६ मा आठजना, कक्षा ७ मा तीनजना, कक्षा ८ मा १५ जना र कक्षा ९ मा ५६ जना विद्यार्थी भर्ना हुन आएका थिए। 

यस्तै, अंग्रेजी धारबाट कक्षा ६ मा नौजना कक्षा ७ मा नौजना, कक्षा ८ मा २५ जना र कक्षा ९ मा ३५ जना विद्यार्थी भर्ना हुन आएको विद्यालयले जनाएको छ।

सरकारी त्यसमा पनि ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी भर्नाका लागि ‘इन्ट्रान्स’ लिइएको घटनाले जिल्लाका शैक्षिक क्षेत्रमा चर्चा पाइरहेको छ। 

पाठ्यक्रममा आधारित शिक्षण सिकाइ बिधि अपनाउन सुरु गरेपछि २००९ फागुनमा स्थापित सरस्वती माविले अन्य विद्यालयका विद्यार्थीसमेत तान्न सफल भएको बताइएको छ। 

कक्षा ५ मुनिका कक्षामा मिनी–मन्टेश्वरी शैलीको शिक्षण विधि अपनाउँदै आएको सो विद्यालयमा हरेक वर्ष विद्यार्थीको आकर्षण बढिरहेको छ। 

विद्यालयलाई नमुना बनाउने विधि, सीप, क्षमता, योजना, भिजनलगायत विषय अध्ययनका लागि तत्कालीन जिशिअ ज्ञानमणि नेपालले २०७३ चैतमा आयोजना गरेको विभिन्न नमुना विद्यालय भ्रमणपछि विद्यालयमा विद्यार्थी केन्द्रित पठन–पाठन सुरुवात गरिएको प्रधानाध्यापक राईले बताए।

पुस्तकको भरमा पुरातन शैलीबाट पठनपाठन सञ्चालन हुँदै आएको विद्यालयमा आवश्यक पुस्तक तथा शैक्षिक सामग्री जुटाएर पाठ्यक्रममा आधारित शिक्षण सिकाइ सुरु गरिएपछि विद्यालयले बोर्डिङकै झल्को दिने गरेको छ। 

कक्षाको फरक स्वरूप र सजावट, विद्यार्थी केन्द्रित शिक्षण व्यवस्था, कक्षामा पर्याप्त शैक्षिक सामग्रीको व्यवस्थापनसँगै अनुशासनमा गरिएको कडाइ पनि विद्यालयको सफलताको अर्को कारक हो। 

माथिल्लो कक्षामा इच्छाअनुसार अंग्रेजी र नेपालीमा पठनपाठनको व्यवस्था भए पनि प्रावि तहमा अंग्रेजी अनिवार्य गरिएको विद्यालयले जनाएको छ।

तीन विद्यालय शिक्षकविहीन
खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन विद्यालय शिक्षकविहीन बनेको छ। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित जालन्धर प्रावि, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बालकन्या प्रावि र डिकुवाकै बरगाछी प्रावि बलुई चैतदेखि शिक्षकविहीन बनेको हो। 

जालन्धर प्राविमा कार्यरत अस्थायी शिक्षक कवीन्द्र राई र बालकन्या प्राविका कार्यरत शिक्षक भूपमनी राईले गोल्डेन ह्यान्डसेकमा गत चैत ३ गतेदेखि स्वतः अवकाश पाएपछि विद्यालय शिक्षकविहीन बनेको हलेसी तुवाचुङका मेयर इवन राईले बताए। 

यस्तै कार्यरत शिक्षक तीर्थ खड्काले शिक्षक सेवा आयोगमार्फत स्थायीमा नाम निकालेर दाम्ली मावि डिकुवामा सरुवा लिएपछि बरगाछी प्रावि शिक्षकविहीन बनेको हो।

शिक्षकविहीन हुँदा तीनवटै विद्यालय बन्द हुने अवस्थामा पुगेको छ। सरकारी दरबन्दीको शिक्षक नहुँदा विद्यार्थी भर्ना अभियान र पाठ्यापुस्तक वितरणका कामसमेत प्रभावित भएको छ। 

जिल्ला शिक्षा समन्वय एकाइको कार्यालयले शिक्षक सेवा आयोग उत्तीर्ण गरेका स्थायी शिक्षकलाई नियुक्ति दिएर नगरका विभिन्न विद्यालयमा पठाए पनि रिक्त दरबन्दीमा शिक्षक नपठाएकाले विद्यालय बन्द हुने अवस्थामा पुगेको मेयर राईले बताए। 

‘शिक्षा समन्वय एकाइ कार्यालयले स्थायी शिक्षक त पठायो तर हामीसँग समन्वय नै नगरी आफूखुसी पठाइएको छ,’ मेयर राईले भने, ‘आवश्यक विद्यालयमा शिक्षक नपठाउँदा विद्यालय बन्द हुने अवस्थामा पुगेको छ।’


कार्यरत एक मात्र अस्थायी शिक्षक गोल्डेन ह्यान्डसेकमा निस्किएपछि जालन्धार प्राविमा हाल विद्यालय कर्मचारी मात्र बाँकी छन्। 

यस्तै एक मात्र दरबन्दीमा कार्यरत शिक्षक गोल्डेन ह्यान्डनसेकमा अवकाश पाएर निस्किएपछि बालकन्या प्राविमा हाल बाल विकास शिक्षक र एकजना कर्मचारी मात्र बाँकी छन्। 

कार्यरत शिक्षक खत्री आन्तरिक आयोगमार्फत स्थायीमा नाम निकालेर घर पायक रहेको दाम्ली माविमा सरुवा लिएपछि बरगाछी प्राविमा बाल विकासका र अनुदान कोटाका एकएक शिक्षक र एक कर्मचारी मात्र बाँकी रहेको स्रोतव्यक्ती राईकोभनाइ छ। 

जिल्ला शिक्षा समन्वय एकाइको कार्यालयले शिक्षक नहुँदा बन्द हुने अवस्थाका विद्यालयमा शिक्षक नपठाएको भन्दै नगर शिक्षा समितिको बैठकले पठाइएका शिक्षकलाई हाजिर नगराउने र हाजिर भइसकेका शिक्षकलाई तलब नखुवाउने निर्णय गरिसकेको छ। 

शिक्षा समन्वय एकाइ कार्यालय खोटाङका प्रमुख सेवन्त गौतमले भने त्यस विषयमा आफूलाई आधिकारिक जानकारी नभएको बताए।