Thursday, January 30, 2025

जातजातिबीचको एकतालाई सुदृढ गर्न सके आर्थिक र सामाजिक रुपमा समृद्ध बन्न सकिन्छ- अध्यक्ष राई

 



१७ माघ २०८१/साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले सबै जातजाति, धर्मसंस्कृति, भेषभुषा र विविधतालाई सम्मान गर्दै सांस्कृतिक विकास गरि समृद्ध समाज निर्माण गर्न सकिने कुरामा जोड दिनुभएको छ । नियाङ्ला गुम्बा साकेला-३ खिदिमा खोटाङको आयोजनामा भएको मञ्जुश्री सम्बत २८६१ सोनाम ल्होछार पर्व मनाउने क्रममा शुभकामना आदन-प्रदान कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा आफ्नो भनाई राख्नुहुँदै अध्यक्ष राईले साकेला गाउँपालिका सरकार सबै जातजातिको धर्मसंस्कार र संस्कृतिलाई सम्मान गर्दै अघि बढिरहेको उल्लेख गर्नुभयो ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । “सोनाम ल्होछार पर्वले सबै जातजाती बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध पालिका हुँदै समृद्ध देश निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु”, अध्यक्ष राईले भन्नुभएको छ । सो अवसरमा अध्यक्ष राईले साकेला गाउँपालिकाभित्र रहेका १३ वटा जातजातीको धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्न योजना बनाएर पालिका सरकार लागिरहेको उल्लेख गर्नुभयो ।



सडक र भवन बन्नु मात्र विकास होईन, सबै जातजातीको संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नु पनि साँस्कृतिक विकास हो, सबै प्रकारको विकास गर्नसके मात्र समृद्ध साकेला देशकै नमूना बनाउन सकिने अध्यक्ष राईले उल्लेख गर्नुभयो । साकेला गाउँपालिकाले जातजाती, धर्मसँस्कृतिमा आधारित भएर चित्रकलाको माध्यमद्वारा गाउँपालिकालाई चिनाउने अभियानमा समेत लागेको स्मरण गराउनुभयो । गाउँपालिकाले विभिन्न स्थानका भित्ता तथा ढुङ्गामा चित्रकलाको माध्यमद्वारा विभिन्न धर्मसँग सम्बन्धित देवीदेवताको चित्र बनाउन सुरु गरेको छ । यसै सन्दर्भमा अध्यक्ष राईले थप्नुभयो- हेर्दा सामान्य लाग्न सक्छ तर पालिकाले विभिन्न धर्मको सम्मानको लागि यो काम गरिरहेको छ, पालिकाले गरेको सकारात्मक विकासका कार्यमा सबै नागरिकको साथको आवश्यक छ ।



नियाङ्ला गुम्बा व्यवस्थापन समिति अध्यक्ष शुक्र तामाङको अध्यक्षतामा भएको शुभकामना आदन प्रदान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, पूर्व गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का, नेपाली काँग्रेस प्रदेश समिति सदस्य शान्तिकला राई, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा साकेला गाउँपालिका ईन्चार्ज प्रभात विक्रम कटवाल लगायतले शुभकामना प्रदान गर्नुभएको थियो ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६१ औं वर्ष सुरु हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाताहरुको भनाई छ ।

Thursday, September 5, 2019

खुकुरी प्रहार गरी पत्निकाे हत्या

खोेटाङ २० भदौ  । घरायसी विवादपछि श्रीमानको खुकुरी प्रहारबाट खोटाङमा श्रीमतिको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका सिताराम राईले ३० बर्षीय श्रीमति देविका राईलाई टाउकोमा खुकुरी प्रहार गर्दा ज्यान गएको हो ।

राईले बिहिवार साँझ श्रीमतिलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए । श्रीमतिको हत्या गरेका राईलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मृतक राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीको भनाइछ ।

Thursday, May 23, 2019

महिला मृत फेला

खोटाङ, जेठ १० : खोटाङमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । बराहपोखरी गाउँपालिका–६ मौवाबोटे डाँडाघरकी सरस्वती राई मृत फेला परेकी हुन् । 

जन्तेढुंगा गाउँपालिका–२ बोपुङ माईती घर भएकी राई बुधबार निभारोकोरुखमा झुण्डिएको अवस्थामा फेला परेको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका वडाध्यक्ष बिदुरमान राईले बताए । 

मृतकको शरीमा निलडाम देखिएकाले राईको कुटपिटपछि हत्या गरिएको वा यातनाका कारण आत्महत्या गरेको आफन्तले बताएका छन् । 

मृतकको शव पोष्टमार्टमका लागि बिहिबार प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा ल्याइएको छ । शुक्रबार पोष्टमार्टम गरेर शव आफन्तलाई जिम्मा दिने तयारी गरिएको वडाध्यक्ष राईले बताए । राईको मृत्युलाई आफन्तले शंकास्पद मानेका छन् । 


Saturday, May 18, 2019

खानेपानीमै चरम विभेद र विवाद

खोटाङ ५ जेठ । विभिन्न जातजाती, भाषाभाषी, राजनीतिक आस्था, संस्कार सँस्कृति र धर्म पर्वको मिलन केन्द्र हो– खोटाङ । तर त्यहीँ खोटाङमा खानेपानीमा समेत विभेद छ भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ ।

तर, तपाई हलेसी नगरपालिकास्थित वडा–३ च्यास्मिटार, बालम्बारी पुग्नु भयो भने कसैले सरकारी योजनाको पानी पिइरहेको त कसैले पिउन नै नपाएको दृश्य देख्न सक्नुहुन्छ । त्यो पनि २२ घरधुरी रहेको बालम्बारीमा चार घरधुरीको उपस्थितिमा आफूखुसी उपभोक्ता समिति गठन गरेर पानी पिइरहेका छन् भने अन्य १८ घर परिवारलाई पुरै वञ्चित गरिएको छ ।

४ घरधुरीबाट पानीको विभेदमा परेका १८ घर परिवार मध्येका एक सदस्यले आफूहरुले पानी माग्दा हामीलाई मात्र आएको भन्दै नदिएको गुनासो गरे । ‘सरकारी बजेट सही सदुपयोग हुनपर्यो, १८ घर परिवार वञ्चित हुने चार परिवारले मनोमानी गर्ने भएन’ उनले भने ।

चार घर परिवार मिलेर बालम्बारी खानेपानी योजना नामक उपभोक्ता समिति गठन गरेका थिए । उनीहरूले पुरै गाउँको सहमतिमा समिति गठन भएको भन्दै वडा अध्यक्ष भलाराज राईलाई नगरपालिका समक्ष सिफारिस गरिदिन आग्रह गरेका थिए । वडाअध्यक्षले पनि सिफारिस गरेको पाइएको छ । तर, समितिमा भने चार परिवारका नातागोता मात्र राखिएको पाइएको छ, गाउँको सहमति पनि नगरेको र योजना ल्याएपछि पानी खान पिउन पनि नदिएको पाइएको छ । 

वडा अध्यक्ष भलराज राईले आफूले खानेपानीमा विवाद रहेको र मिलाउन पहल गर्दा नसकेको बताए । ‘उहाँहरुले उपभोक्ता समिति गठन गरेर आउनु भयो, मैले त गाउँ मिलेर नै होला भनेर नगरपालिकामा सिफारिस गरे, तर पछि बजेट निकासापछि मात्र थाहा पाएँ, गैरकानुनी ढंगले समिति गठन गर्नु भएको छ, मलाई यसमा फसाइयो हजुर ।’ उनले भने । वडा अध्यक्ष राईले आफूले मिलाउन पहल गर्दा नसकेपछि न्यायिक समितिमा सिफारिस गरेको जनाए ।

सब इन्जिनियर अग्निराज राईले तयार पारेको लागत रकम अनुसार खानेपानी योजनाको लागत १० लाख ९५ हजार २ सय ५ राखिएको छ । त्यसमा नगरपालिकाबाट ८ लाख ८८ हजार ६ सय ५४ रहेको छ भने लाभग्राहीबाट २ लाख ६ हजार ५ सय ५० राखिएको छ । नगरपालिकाले बजेट किस्तामा उपलब्ध गराउनुपर्नेमा एकैचोटी रकम उपलब्ध गराएको स्रोत बताउँछ । विवाद सिर्जना हुनुमा नगरपालिकाको उच्च नेतृत्व पनि संलग्न रहेको स्थानीयले आशंका गरेका छन् ।


Saturday, May 11, 2019

ढुंगाले लागेर युवकको मृत्यु

२९ वैशाख (खोटाङ)- गिटी कुटिरहेको समयमा माथिबाट खसेको ढुंगाले लाग्दा खोटाङमा एक युवकको मृत्यु भएको छ । कुलो निर्माणका लागि आवश्यक गिटी कुटिरहेका समयमा माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाईते भएका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका २३ वर्षीय शंकर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिए ।

शनिवार ११ बजेतिर माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाईते भएका कार्कीको थप उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा बाटैमा मृत्यु भएको प्रहरी निरिक्षक कट्वालले बताए ।

कार्कीलाई राजापानीको पाटीटारमा ढुंगाले लागेको हो । ढुंगाले लागेपछि गम्भीर घाईते भएका कार्कीको स्वास्थ्यचौकी बुईपामा सामान्य उपचारपछि धरान लैजानेक्रममा राजापानीको रेग्मीटारमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीको भनाइछ ।