१७ माघ २०८१/साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले सबै जातजाति, धर्मसंस्कृति, भेषभुषा र विविधतालाई सम्मान गर्दै सांस्कृतिक विकास गरि समृद्ध समाज निर्माण गर्न सकिने कुरामा जोड दिनुभएको छ । नियाङ्ला गुम्बा साकेला-३ खिदिमा खोटाङको आयोजनामा भएको मञ्जुश्री सम्बत २८६१ सोनाम ल्होछार पर्व मनाउने क्रममा शुभकामना आदन-प्रदान कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा आफ्नो भनाई राख्नुहुँदै अध्यक्ष राईले साकेला गाउँपालिका सरकार सबै जातजातिको धर्मसंस्कार र संस्कृतिलाई सम्मान गर्दै अघि बढिरहेको उल्लेख गर्नुभयो ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक
विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी
सद्भाव, सहिष्णुता
र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । “सोनाम ल्होछार
पर्वले सबै जातजाती बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध
पालिका हुँदै समृद्ध देश निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस्
भन्ने कामना गर्दछु”, अध्यक्ष
राईले भन्नुभएको छ । सो अवसरमा अध्यक्ष राईले साकेला गाउँपालिकाभित्र रहेका १३ वटा
जातजातीको धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्न योजना बनाएर पालिका सरकार
लागिरहेको उल्लेख गर्नुभयो ।
सडक र भवन बन्नु
मात्र विकास होईन, सबै जातजातीको संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नु
पनि साँस्कृतिक विकास हो, सबै प्रकारको विकास गर्नसके मात्र समृद्ध साकेला देशकै
नमूना बनाउन सकिने अध्यक्ष राईले उल्लेख गर्नुभयो । साकेला गाउँपालिकाले जातजाती,
धर्मसँस्कृतिमा आधारित भएर चित्रकलाको माध्यमद्वारा गाउँपालिकालाई चिनाउने
अभियानमा समेत लागेको स्मरण गराउनुभयो । गाउँपालिकाले विभिन्न स्थानका भित्ता तथा
ढुङ्गामा चित्रकलाको माध्यमद्वारा विभिन्न धर्मसँग सम्बन्धित देवीदेवताको चित्र
बनाउन सुरु गरेको छ । यसै सन्दर्भमा अध्यक्ष राईले थप्नुभयो- हेर्दा सामान्य लाग्न
सक्छ तर पालिकाले विभिन्न धर्मको सम्मानको लागि यो काम गरिरहेको छ, पालिकाले गरेको
सकारात्मक विकासका कार्यमा सबै नागरिकको साथको आवश्यक छ ।
नियाङ्ला गुम्बा
व्यवस्थापन समिति अध्यक्ष शुक्र तामाङको अध्यक्षतामा भएको शुभकामना आदन प्रदान
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, पूर्व गाउँपालिका अध्यक्ष
अर्जुनकुमार खड्का, नेपाली काँग्रेस प्रदेश समिति सदस्य शान्तिकला राई, नेकपा
एमाले प्रदेश कमिटी सदस्य तथा साकेला गाउँपालिका ईन्चार्ज प्रभात विक्रम कटवाल
लगायतले शुभकामना प्रदान गर्नुभएको थियो ।
मञ्जुश्री
पात्रोअनुसार आजदेखि २८६१ औं वर्ष सुरु हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल
प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा,
गाई, बाघ, खरायो, ड्रागन
(मेघ), सर्प, घोडा, भेडा, बाँदर,
चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई
विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले
प्रकृतिपूजक रहेको अनुसन्धानदाताहरुको भनाई छ ।